छ हप्ताभित्रै इरानसँगको युद्ध अन्त्य हुने ट्रम्पको दाबी
सीसँगको भेटअघि नै शान्ति कायम गर्ने लक्ष्य, ह्वाइट हाउसको अल्टिमेटम: इरानले पराजय स्वीकार नगरे अमेरिका नर्क निम्त्याउन तयार छ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
2.2k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी सैन्य द्वन्द्वलाई लामो समयसम्म नलम्ब्याउने र आगामी केही हप्ताभित्रै यसको समाधान निकाल्ने स्पष्ट सङ्केत दिएका छन्। वाल स्ट्रिट जर्नलको एक ताजा प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पले आफ्ना सल्लाहकारहरूलाई निजी रूपमा यो द्वन्द्व 'अन्तिम चरण' मा पुगेको बताउँदै ४ देखि ६ हप्ताको समयसीमाभित्रै यसलाई टुङ्ग्याउन निर्देशन दिएका छन्।
यो प्रस्तावित समयसीमा मे महिनाको मध्य (जेठको पहिलो हप्ता) तिर बेइजिङमा हुने तय भएको चीनका राष्ट्रपति सी चिनपिङसँगको ऐतिहासिक शिखर वार्ताअघि नै पर्ने देखिन्छ। ह्वाइट हाउसले बुधबार मात्रै राष्ट्रपति ट्रम्प र सी चिनपिङबीच आगामी मे १४ र १५ का लागि शिखर भेटवार्ता तय भएको पुष्टि गरेको छ।
बुधबार आयोजित एनआरसिसी को वार्षिक कोष सङ्कलन कार्यक्रममा बोल्दै ट्रम्पले आफूले विगतमा आठ वटा युद्धहरू समाधान गरिसकेको दाबी गर्दै इरानको सन्दर्भमा पनि सोही उपलब्धि दोहोरिने विश्वास व्यक्त गरे। "उनीहरू (इरान) सम्झौताका लागि निकै भोका छन्, तर आफ्नै मान्छेबाट मारिने डरले सार्वजनिक रूपमा स्वीकार गर्न डराइरहेका छन्," ट्रम्पले भने। उनले इरानसँग 'फलदायी' वार्ता भइरहेको र उनीहरूका कुराहरू 'तर्कसङ्गत' रहेको समेत उल्लेख गरे।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानले वार्ताको सङ्केत देखाएपछि अमेरिकाले केही प्रस्तावित सैन्य आक्रमणहरू स्थगित गरेको जानकारी दिइन्। यद्यपि उनले इरानलाई कडा चेतावनी दिँदै भनिन्, "राष्ट्रपति ट्रम्पले ठट्टा गर्नुभएको होइन, यदि इरानले आफ्नो पराजय स्वीकार गरेन भने अमेरिका 'नर्क निम्त्याउन' तयार छ।" लेभिटका अनुसार पछिल्ला आक्रमणहरूमा इरानले आफ्नो उच्च सैन्य नेतृत्व, नौसेना र हवाई प्रतिरक्षा प्रणालीमा अपूरणीय क्षति व्यहोरेको छ।
अमेरिकी दाबीको विपरित इरानले भने वार्ताको कुरालाई प्रचारबाजीको संज्ञा दिएको छ। तेहरानले अमेरिकी १५ बुँदे प्रस्तावलाई अस्वीकार गर्दै आफ्नो माग पूरा नभएसम्म 'प्रतिरोध' जारी राख्ने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले द्वन्द्व अन्त्य आफ्नै सर्त र समयसीमामा मात्र सम्भव हुने अडान राखेका छन्।