प्रसारण लाइनका दुई टावर ढलेसँगै कर्णालीको विद्युत् आपूर्ति प्रभावित, छानबिन गर्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
388
Shares
काठमाडौँ। बाँकेको चिसापानी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनका दुई ओटा टावर ढल्दा कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको छ ।
घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले चासो व्यक्त गर्दै मर्मत तथा छानबिन कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री श्रेष्ठको सचिवालयले सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै क्षतिग्रस्त टावर पुनर्निर्माण गरी विद्युत् सेवा सुचारु गर्न पहल गरिरहेको जनाएको छ ।
हावाहुरीका क्रममा रुख ढल्दा दुई ओटा १३२ केभी क्षमताका टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । घटनापछि नेपाल विद्युत् प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मेवारी आर एस इन्फ्रा कम्पनीले लिएको थियो ।
प्रारम्भिक विवरणअनुसार टावरको फाउन्डेशन नै पुनःनिर्माण गर्नुपर्ने अवस्था देखिएको छ । मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।
१३२ केभी प्रसारण लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्ति कायम राख्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् सेवा शुरू गरिएको छ । तर उक्त लाइनको क्षमता कम भएकाले प्रदेशभर विद्युत् सेवा प्रभावित भइरहेको बताइएको छ ।
कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको महत्त्वपूर्ण पूर्वाधार आयोजना हो ।