arrow

प्रधानमन्त्री साहको अनुपस्थितिप्रति कांग्रेसको आपत्ति, जवाफ नदिए संसद बहिष्कार गर्ने

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री नआए संसद बैठक बिहष्कार गर्छौं

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
arjunnarsing-kc-30.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र साह उपस्थित नभए संसद बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले संसदीय परम्परा र मान्यताको उपेक्षा गरेको भन्दै यस्तो चेतावनी दिएका हुन्।

नेता केसीले प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव पेश गर्न सक्ने व्यवस्था नियमावलीमा रहेको स्पष्ट पारे। "कुनै पनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले तोकेको मन्त्रीले प्रस्ताव टेबुल गर्नु हाम्रो परम्परा हो," केसीले भने, "प्रस्तुत गर्ने कुरामा माननीय मन्त्रीज्यूले गर्दा हामीलाई आपत्ति छैन।"

तर नीति तथा कार्यक्रममाथि हुने छलफलको जवाफ दिने समयमा भने प्रधानमन्त्री साह आफैँ उपस्थित हुनुपर्ने कांग्रेसको अडान छ। नेता केसीले अगाडि भने, "प्रधानमन्त्रीबाट संसदको उपेक्षा भयो भन्ने हाम्रो धारणा हो। यदि जवाफ दिने बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने हामी बाध्य भएर संसद बहिष्कार गर्छौं।"

कांग्रेसले प्रधानमन्त्रीले संसद्लाई दिएको महत्त्व र उत्तरदायित्वमाथि प्रश्न उठाउँदै आएको छ। सभामुखले उल्लेख गरेको नियमावलीको धारा ३८ को व्याख्या अनुसार प्रस्ताव पेश गर्न अन्य मन्त्रीलाई बाधा नभए पनि मुख्य कार्यकारीका रूपमा प्रधानमन्त्रीको जवाफदेहिता अनिवार्य हुने कांग्रेसको तर्क छ।

अहिले संसद्मा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ, जहाँ प्रतिपक्षले प्रधानमन्त्रीको सक्रिय उपस्थितिको मागलाई प्रमुखताका साथ उठाइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ