भेनेजुएलापछि अब क्युवाको पालो भएको सन्देश दिँदै ट्रम्प
चरम सङ्कट झेलिरहेको क्युवासँग वार्ता गर्ने ट्रम्पको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
946
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार क्युवासँग वार्ता गर्ने घोषणा गरेका छन्। भेनेजुयलाका पूर्व नेता निकोलस मदुरोको गिरफ्तारी र अमेरिकी इन्धन नाकाबन्दीका कारण चरम सङ्कट झेलिरहेको क्युवासँग वार्ता गर्ने संकेत ट्रम्पले दिएका हुन्।
राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा पोस्ट गर्दै क्युवालाई ‘एक असफल देश’ को संज्ञा दिएका छन्। उनले लेखेका छन्, “कम्युनिस्ट शासित टापु एक असफल देश बनेको छ। क्युबाले मद्दत मागिरहेको छ र हामी वार्ता गर्न जाँदैछौँ।” यद्यपि, उनले वार्ताको विस्तृत विवरण र सर्तहरूबारे भने केही खुलाएका छैनन्।
यसै महिनाको सुरुमा ट्रम्पले फ्लोरिडा तटबाट नजिकै रहेको क्युवालाई अमेरिकाले ‘तुरुन्तै कब्जा’ लिन सक्ने बताएका थिए। भेनेजुएलामा मदुरोको पतनपछि वासिङ्टनले क्युवाली सरकारलाई अपदस्थ गर्न खोजेको अड्कलबाजीहरू भइरहेका छन्। ट्रम्पले भेनेजुएलापछि अब क्युवाको पालो भएको सन्देश दिँदै आएका छन्।
भेनेजुएला क्युवाका लागि इन्धनको मुख्य स्रोत थियो। तर, अमेरिकाले आपूर्ति मार्ग बन्द गरिदिएपछि क्युवामा चरम इन्धन सङ्कट देखिएको छ, जसका कारण त्यहाँ लामो समय लोडसेडिङ भइरहेको छ। मे १ मा मात्रै ट्रम्पले क्युवाली अर्थतन्त्रलाई लक्षित गरी थप नयाँ प्रतिबन्धहरूको घोषणा गरेका थिए।
क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकी कदमको कडा आलोचना गरेका छन्। उनले ट्रम्पको नीतिलाई ‘सामूहिक सजाय’ र ‘एकपक्षीय जबरजस्ती’ कदमको संज्ञा दिँदै विरोध जनाएका छन्। सन् १९६० को दशकदेखि नै तनावपूर्ण रहेको अमेरिका–क्युवा सम्बन्ध मदुरोको पतनपछि थप जटिल मोडमा पुगेको छ।