दिल्लीसँग हार्यो पञ्जाब, प्लेअफको यात्रा थप चुनौतीपूर्ण
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
395
Shares
काठमाडौँ । दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ३ विकेटले हराएको छ। यो पञ्जाबको लगातार चौथो हार हो। धर्मशालास्थित एचपिसिए स्टेडियममा सोमबार खेलिएको आईपीएलको यस खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर २१० रनको बलियो योगफल तयार पारेको थियो। पञ्जाबका लागि श्रेयस अय्यर र प्रियान्श आर्याले अर्धशतकीय पारी खेले।
श्रेयसले ३६ बलमा अविजित ५९ रन बनाए भने प्रियान्शले ३३ बलमा ५६ रन जोडे। अन्त्यमा सूर्यान्श शेडगेले मात्र ८ बलमा २१ रनको विस्फोटक पारी खेले। दिल्लीका लागि मिचेल स्टार्क र माधव तिवारीले २–२ विकेट लिए भने मुकेश कुमारले १ विकेट चट्काए।
२११ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सको सुरुवात निकै खराब रह्यो। टोलीले पावरप्लेमै केएल राहुल (९), अभिषेक पोरेल (५) र साहिल परख (१३) को विकेट गुमायो। त्यसपछि ट्रिस्टन स्टब्स पनि १२ रन बनाएर रन आउट भए।
सङ्कटपूर्ण घडीमा कप्तान अक्षर पटेलले ३० बलमा ५६ रनको तीव्र पारी खेले। त्यस्तै, डेभिड मिलरले २८ बलमा ५१ रन बनाउँदै टोलीलाई खेलमा टिकाइराखे। यी दुईबीच पाँचौँ विकेटका लागि ६४ रनको महत्त्वपूर्ण साझेदारी भयो।
खेलको अन्त्यतिर आशुतोष शर्माले १० बलमा २४ रनको विष्फोटक पारी खेले। माधव तिवारीले ८ बलमा १८ रन र आकिब नबीले २ बलमा १० रन बनाएर अविजित रहँदै १९ ओभरमै ७ विकेट गुमाएर लक्ष्य भेट्टाए।
पञ्जाबका लागि अर्शदीप सिंह र यश ठाकुरले २–२ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।
यो जितसँगै दिल्ली क्यापिटल्सको १२ खेलबाट १० अङ्क भएको छ। अर्कोतर्फ, ११ खेलमा ६ जित हात पारेको पञ्जाब किंग्स १३ अङ्कका साथ तालिकामा यथावत् छ। पञ्जाबका लागि प्लेअफको यात्रा अब थप चुनौतीपूर्ण बनेको छ।