पूर्वाधार विकासमा नयाँ वित्तीय मोडल: डायस्पोरा पुँजी र निजी लगानीमा जोड
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
337
Shares
काठमाडौँ । सरकारले मुलुकको पूर्वाधार निर्माणका लागि वित्त पोषणको नयाँ र आधुनिक मोडल लागू गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो योजना सार्वजनिक गरेका हुन्।
सरकारले अब परम्परागत वैदेशिक सहायता र आन्तरिक ऋणमा मात्र भर नपरी वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी क्षेत्रको लगानीलाई पूर्वाधार क्षेत्रमा परिचालन गर्ने नीति लिएको छ।
दीर्घकालीन पुँजी निर्माणका लागि ऋण बजार, बण्ड बजार, पूर्वाधार बण्ड र जोखिम व्यवस्थापनका आधुनिक उपकरणहरू विकास गरिने राष्ट्रपति पौडेलले बताए।
नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सरकारले वैदेशिक सहायता र ऋणलाई उच्च प्रतिफल दिने आयोजनाहरूमा मात्र केन्द्रित गर्नेछ भने रुपान्तरणकारी योजनाहरूलाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा समयसीमासहित अघि बढाइनेछ। आयोजनाहरू समयमै सम्पन्न गर्न आयोजना प्रमुखसँग अनिवार्य कार्यसम्पादन सम्झौता गर्ने र कुनै पनि आयोजना सम्पन्न नभएसम्म त्यहाँ खटिएका प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नगर्ने सरकारको तयारी छ।
यसका साथै निर्माण कार्यको प्रगति ट्रयाक गर्न डिजिटल प्रणाली लागू गरिने तथा जग्गा प्राप्ति र वन क्षेत्रसँग सम्बन्धित समस्या समाधानलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ। यो नयाँ मोडलले विकास निर्माणको सुस्त गतिलाई चिर्दै आर्थिक समृद्धिको आधार तयार पार्ने विश्वास गरिएको छ।