ट्रम्प मे १३ मा चीन जाँदै, इरान युद्ध र व्यापारिक तनाव मुख्य एजेन्डा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
917
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेइजिङले सोमबार पुष्टि गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई विश्व राजनीति र आर्थिक क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।
वासिङ्टन र बेइजिङबीच भन्सार महसुल, ताइवानको मुद्दा र मध्यपूर्वमा जारी युद्धका विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले यस भ्रमणका क्रममा व्यापारिक तनाव कम गर्ने र इरानलाई युरेनियम प्रवर्धन नियन्त्रण तथा युद्ध अन्त्यका लागि दबाब दिन राष्ट्रपति सीसँग आग्रह गर्ने अपेक्षा गरिएको छ। इरानबाट ठूलो परिमाणमा सहुलियत दरमा कच्चा तेल आयात गर्ने प्रमुख ग्राहक भएकाले चीनको भूमिका यसमा निर्णायक हुन सक्ने अमेरिकाको बुझाइ छ।
यसअघि मार्चको अन्त्य वा अप्रिलको सुरुमै चीन जाने तयारी भए पनि इरान युद्धमा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले ट्रम्पले आफ्नो भ्रमण स्थगित गरेका थिए।
अमेरिकी प्रमुख सहायक प्रेस सेक्रेटरी अन्ना केलीले यो भ्रमणलाई निकै 'साङ्केतिक महत्त्व' को रूपमा व्याख्या गरेकी छन्। उनले भनिन्, "राष्ट्रपति ट्रम्प कहिल्यै पनि केवल देखाउनका लागि मात्र यात्रा गर्नुहुन्न। अमेरिकी जनताले राष्ट्रपतिबाट देशको हितमा थप राम्रो सम्झौता हुने आशा राख्न सक्छन्।"
ह्वाइट हाउसका अनुसार ट्रम्पको यो दोस्रो कार्यकालको पहिलो चीन भ्रमण हो। सन् २०१७ पछि कुनै पनि अमेरिकी राष्ट्रपतिले चीन भ्रमण गर्न लागेको यो पहिलो पटक हो। भ्रमणका क्रममा बेइजिङस्थित ऐतिहासिक ‘टेम्पल अफ हेभन’ को भ्रमण र भव्य राजकीय भोजसहितका विशेष समारोहहरूको आयोजना गरिनेछ।