पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
451
Shares
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना७ख ५८२० नम्बरको यात्रुवाहक बस बस शनिबार बेलुकी करिब ७ बजे अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए ।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल बर्दघाट पठाइएको छ । बसमा ३१ जना यात्रु सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरी नायब उपरीक्षक पन्तले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका अधिकांश यात्रुको हातखुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कास्की, नवलपरासी, कैलाली, तनहुँलगायत विभिन्न जिल्लाका यात्रु घाइते भएका छन् ।
एक जना विदेशी नागरिक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक पन्तले बताए ।