तनहुँ । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लाको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।
डिभिजन वन कार्यालय चितवन ले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुख कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । यस सम्बन्धमा आयोजना र वन कार्यालयबीच औपचारिक सम्झौतासमेत सम्पन्न भएको जनाइएको छ ।
आयोजनाका प्रमुख श्यामजी भण्डारी का अनुसार भरतपुर महानगरपालिका-१ स्थित सतनचुली संरक्षित क्षेत्र तथा सतनचुली सामुदायिक वन, साथै भरतपुर-२९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार दुई सय ६३ ओटा रुख कटान गरिनेछ ।
कटान गरिएका रुखहरू तोकिएको समयभित्र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह तथा सब-डिभिजन वन कार्यालयले सुरक्षित ठहर गरेको स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा पर्ने कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँ रहेका नौ हजार १२७ वटा रुख हटाउन स्वीकृति दिइएको थियो ।
सोही निर्णयका आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भूसंरक्षण विभाग बीच सम्झौता सम्पन्न भएको थियो । त्यसपछि डिभिजन वन कार्यालय, आयोजना र सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा रुख छपान कार्य अघि बढाइएको जनाइएको छ ।