काठमाडौँ । विभिन्न विश्वविद्यालयहरूमा रिक्त रहेका उपकुलपति पदहरूको सिफारिसका लागि गठित समितिले औपचारिक रूपमा दरखास्त आह्वान गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले कुल आठ वटा विश्वविद्यालयका लागि यो आवेदन माग गरेको हो।
समितिले आवेदन माग गरेका विश्वविद्यालयहरूमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय रहेका छन्।
यस छनोट प्रक्रियालाई व्यवस्थित बनाउन समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ तयार गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ।