सम्झौताका लागि वातावरण बनाउन ट्रम्पले गरे ‘प्रोजेक्ट फ्रीडम’ स्थगित
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
622
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूलाई सुरक्षा दिँदै बाहिर निकाल्ने सैन्य अभियान ‘प्रोजेक्ट फ्रीडम’ तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन्। वासिङ्टन र तेहरानबीच हुन लागेको सम्भावित शान्ति सम्झौताका लागि वातावरण सहज बनाउन यो निर्णय लिइएको उनले बताए। राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सो जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘इरान विरुद्धको नाकाबन्दी पूर्ण रूपमा लागू रहने भएपनि, सम्झौतालाई अन्तिम रूप दिन र हस्ताक्षर गर्न सकिन्छ कि भन्ने प्रयोजनका लागि ‘प्रोजेक्ट फ्रीडम’ (हर्मुज जलमार्गबाट जहाजहरूको आवागमन) लाई छोटो समयका लागि रोकिएको छ।’
ट्रम्पका अनुसार पाकिस्तान र अन्य केही देशहरूको अनुरोध तथा इरानका प्रतिनिधिहरूसँगको वार्तामा भएको ‘महत्वपूर्ण प्रगति’ का आधारमा यो कदम चालिएको हो। उनले इरानसँगको पूर्ण र अन्तिम सम्झौताका लागि ठोस आधार तयार भइरहेको समेत संकेत गरेका छन्। यसअघि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलसँग मिलेर गत फेब्रुअरी २८ देखि सुरु गरिएको सैन्य अभियान ‘एपिक फ्युरी’ समाप्त भएको जानकारी दिएका थिए। कंग्रेसलाई यसबारे जानकारी गराउँदै विदेशमन्त्री रुबियोले त्यो चरणको कारबाही अब सकिएको र अब ध्यान विश्वव्यापी ऊर्जा मार्ग पुनः सञ्चालन गर्ने प्रयास अर्थात् ‘प्रोजेक्ट फ्रीडम’ मा केन्द्रित रहेको बताएका थिए।
यद्यपि, राष्ट्रपति ट्रम्पको पछिल्लो घोषणाले उक्त ‘प्रोजेक्ट फ्रीडम’ लाई पनि केही समयका लागि थाती राखेको छ, जसले गर्दा इरानसँगको कूटनीतिक संवादलाई प्राथमिकता दिइएको स्पष्ट हुन्छ।