श्रम तथा उपभोक्ता हित समितिद्वारा उपसमिति गठनको तयारी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
310
Shares
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिको कार्यसम्पादनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने प्रक्रिया अघि बढाएको छ। समितिका सभापति रहबर अन्सारीले मंगलवार बसेको बैठकमा समितिको सहज सञ्चालन र बैठक व्यवस्थापनका लागि सात सदस्यीय उपसमिति गठन गरिने जानकारी दिए।
सबै राजनीतिक दलको प्रतिनिधित्व हुनेगरी गठन गरिने उक्त उपसमितिले बैठकका एजेण्डाहरू तय गर्ने र प्रस्तावहरूमाथि प्रारम्भिक छलफल गरी समितिको कामलाई सहजीकरण गर्ने बताए। सभापति अन्सारीका अनुसार आगामी बैठकमा दलहरूबाट प्राप्त नामका आधारमा उपसमितिको औपचारिक घोषणा गरिनेछ।
यसैगरी, समितिले उद्योग, वाणिज्य, आपूर्ति, श्रम र उपभोक्ता हितसँग सम्बन्धित विषयहरूलाई समेटेर करिब ४० वटा बुँदा सम्मिलित ‘टपिक बैंक’ अर्थात् विषयगत सूची तयार पारेको छ।
उक्त सूचीमा रहेका विषयहरूका अतिरिक्त अन्य कुनै महत्वपूर्ण विषयहरू छुट्न गएका भए सुझाव दिन सभापति अन्सारीले समिति सदस्यहरूलाई आग्रह गरेका छन्। सदस्यहरूबाट प्राप्त हुने सुझावहरूलाई समेटेर सचिवालयले उक्त विषयगत सूचीलाई अन्तिम रूप दिने बताइएको छ।