काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसको स्थिती झनै तनावग्रस्त बनेको छ । केहीबेर अघि विद्यार्थी र प्रहरीबीच झडप भएको उक्त क्याम्पसरमा अहिले उच्च संख्यामा जनपथ प्रहरी परिचालन गर्दा पनि नभएपछि सशस्त्र प्रहरीको टोली बोलाईएको छ ।
अहिले एकपक्षीय विद्यार्थीहरु स्ववियु निर्वाचनको माग गर्दै आन्दोलनमा छन् भने अर्काेपक्षीय विद्यार्थीहरु पठनपाठनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा विद्यार्थीहरु कमल जोशी, संगीत ढकाल, पुस्कर वास्तोला र सुजन बञ्जारा घाईते भएका छन् । उनीहरुको काठमाडौं मोडल अस्पतालमा उपचार भईरहेको छ ।
केही दिन अघि स्ववियुको मनोनयन दर्ताको क्रममा पनि विद्यार्थीहरुबीच झडप भएर क्याम्पसमा आगजनी समेत भएपछि क्याम्पस अहिले प्रहरीको व्यारेक जस्तै बनेको छ । दैनिकजसो क्याम्पसभित्र दर्जन भन्दा बढी प्रहरीहरु बसीरहेका हुन्छन् भने विद्यार्थीहरुलाई भित्र पस्न दिईएको छैन । जसले गर्दा क्याम्पस बाहिर विद्यार्थीहरुको देखिने गरेको छ ।
विद्यार्थीहरुले पटकपटक भित्र छिर्न कोशिस गर्दा पनि सम्भव नभएपछि अहिले संयुक्त विद्यार्थी संगठनले क्याम्पसमा पठनपाठन गराउन माग गर्दै शुक्रबार विहान क्याम्पस अगाडि प्रदर्शन गरेपछि शुक्रबार बिहानभर क्याम्पस आसपासको स्थिती तनावग्रस्त बनेको छ ।
उनीहरुले पठनपाठन बन्द गरेर क्याम्पसमा प्रहरीको ब्यारेक बनाईएको भन्दै क्याम्पस प्रमुखको राजीनामा माग समेत गरेका छन् । उक्त प्रदर्शनसँगै सो ठाउँको स्थिती अहिले तनावग्रस्त बनेको छ । क्याम्पसमा २३ गतेको लागि स्ववियु निर्वाचन गर्न सूचना जारी गरिएको छ । तर, अहिलेसम्म पनि विद्यार्थीहरुलाई मूल ढोकाबाट नै प्रवेश रोकिएको छ ।