सगरमाथा आधार शिविर नजिकै लडेर शेर्पाको मृत्यु, शव हेलिकोप्टरमार्फत लुक्ला ल्याइयो
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
378
Shares
काठमाडौँ । सगरमाथा आधार शिविर नजिकै सेभेन समिट टे्रेक्ससँग आबद्ध पर्वतारोही गाइड लाक्पा डेन्डी शेर्पाको आइतबार निधन भएको छ। सोलुखुम्बुको सोताङ गाउँपालिका–४ स्थायी घर भएका ५२ वर्षीय शेर्पाको आधार शिविर क्षेत्र नजिकै बाटोबाट लडेर मृत्यु भएको पुष्टि गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको जानकारी अनुसार आइतबार दिउँसो करिब १२ बजे उक्त दुर्घटना भएको थियो। लामो समयदेखि पर्वतारोहण क्षेत्रमा सक्रिय रहेका शेर्पा सेभेन समिटमार्फत विभिन्न हिमाल आरोहण अभियानहरूमा संलग्न रहँदै आएका थिए।
मृतक शेर्पाको शवलाई हेलिकोप्टरमार्फत उद्धार गरी लुक्ला ल्याइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सगरमाथा आरोहणको मुख्य सिजन चलिरहेका बेला अनुभवी गाइडको निधनले पर्वतारोहण क्षेत्रमा क्षति पुगेको छ।