ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाको पुनः बोलपत्र आह्वान
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
247
Shares
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले मेवा-चाङ्गे (ढुङ्गेसाँघु) १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढुङ्गेसाँघु सबस्टेशनको विस्तारका लागि पुनः बोलपत्र आह्वान गरेको छ ।
कम्पनीले सबस्टेशनमा १३२ केभी बे एक्सटेन्सन र सम्बन्धित भूमिगत केबलिङ कार्यका लागि डिजाइन, आपूर्ति, जडान, परीक्षण र कमिसनिङ सम्बन्धी काम गर्न इच्छुक योग्य बोलपत्रदाताहरूबाट प्रस्ताव माग गरेको हो।
यो ठेक्का राष्ट्रिय प्रतिष्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत डिजाइन एण्ड बिल्ड मोडेलमा अगाडि बढाइने सूचनामा उल्लेख छ ।
यस बोलपत्रमा सहभागी हुनका लागि निर्माण व्यवसायीहरूको योग्यतासमेत तोकिएको छ ।
जसअनुसार आवेदन दिने कम्पनीको पछिल्लो १० वर्षमध्ये उत्कृष्ट तीन वर्षको औसत वार्षिक कारोबार कम्तीमा १८ करोड रुपैयाँ हुनुपर्नेछ ।
साथै, सम्बन्धित क्षेत्रमा कम्तीमा १० करोड ८० लाख रुपैयाँ बराबरको एक वटा समान प्रकृतिको आयोजना सफलतापूर्वक सम्पन्न गरेको अनुभव हुनुपर्ने अनिवार्य शर्त राखिएको छ।
इच्छुक बोलपत्रदाताले १० हजार रुपैयाँ दस्तुर बुझाएर सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणाली मार्फत सहभागी हुन सक्नेछन् ।
सूचना अनुसार विद्युतीय बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ वैशाख २३ गते मध्याह्न १२ः०० बजेसम्म तोकिएको छ ।
बोलपत्रदाताले ४६ लाख रुपैयाँ बराबरको बोलपत्र जमानत राख्नुपर्नेछ, जुन बोलपत्र पेश गर्ने अन्तिम मितिदेखि १२० दिनसम्म मान्य हुनुपर्नेछ ।
यस आयोजनाको प्रिबिड बैठक २०८३ वैशाख १४ गते हुनेछ भने पेश गरिएका बोलपत्रहरू वैशाख २३ गते दिउँसो २ः०० बजे खोलिनेछ ।