काठमाडौँ । काठमाडौँ महानगरपालिका–२३, जोरगणेश ओमबहाल टोलस्थित न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्वको प्रस्तर बुद्ध मूर्ति लामो समयपछि आफ्नै मूल आसनमा फर्काइएको छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो। पुरातत्व विभाग र नेपाली सम्पदा अभियन्ताहरूको निरन्तर प्रयासपछि फिर्ता भएको यस मूर्तिको केही समय राष्ट्रिय सङ्ग्रहालयमा राखेर संरक्षण गरिएको थियो। शुक्रबार वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा भव्यताका साथ पुनःस्थापित गरिएको छ।
हनुमानढोकाबाट विहारमा मूर्ति लैजाँदा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन र सम्पदा अभियन्ताहरूले बाजागाजासहित उत्सव मनाएका थिए। त्यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले नेपाल मण्डलभित्रका मूर्तिहरू केवल आकृति मात्र नभएर प्राणयुक्त हुने र यिनको सामाजिक जीवनसँग गहिरो आत्मीय सम्बन्ध हुने बताइन्।
उनले मूर्तिको सुन्दरता बस्ती र चोकहरूमा नै हुने उल्लेख गर्दै यिनको संरक्षणका लागि महानगरपालिका पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिन्। वडाध्यक्ष महर्जनले मूर्ति पुनःस्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिमा ठूलो योगदान पुगेको बताए भने राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले सम्पदा संरक्षणमा स्थानीय सरकार र समुदायबीचको समन्वय नमूना योग्य रहेको चर्चा गरिन्।
चोरिएका मूर्ति तथा कलात्मक वस्तुलाई मूल स्थानमा पुनःस्थापना गरिएको यो तेस्रो महत्वपूर्ण सम्पत्ति हो। यसअघि वसन्तपुरस्थित कुमारी घरको चोरिएको तोरण २०८२ मंसिर ५ गते र मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको महागौरी/पार्वतीको मूर्ति २०८३ वैशाख ५ गते आफ्नै आसनमा फर्काइसकिएको छ। विशेष गरी १३औँ शताब्दीको महागौरी/पार्वतीको मूर्ति बेलायतबाट फिर्ता ल्याई राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो।
काठमाडौँ महानगरपालिकाले सरोकारवाला निकायहरूसँगको समन्वय र कानुनी प्रक्रिया पूरा गरी विदेश पुर्याइएका प्राचीन कलाकृतिहरूलाई स्वदेश फर्काउने र तिनलाई मौलिक स्थानमा पुनःस्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।