सगरमाथा फेदीको पिरामिड प्रयोगशाला पुनः सक्रिय, जलवायु अध्ययनमा नयाँ गति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
250
Shares
काठमाडौँ। सगरमाथाको फेदी लोबुचे मा अवस्थित अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालनमा आएपछि हिमाली वातावरण र जलवायु परिवर्तनसम्बन्धी अध्ययनले नयाँ गति लिएको छ।
सन् २०१३ देखि बन्द रहेको उक्त प्रयोगशाला दुई वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मार्फत पुनः सञ्चालनमा आएको हो। यो परियोजना इटालियन राष्ट्रिय अनुसन्धान परिषद्सँगको सहकार्यमा अघि बढाइएको हो।
समुद्री सतहबाट करिब पाँच हजार ५० मिटर उचाइमा रहेको यो प्रयोगशाला उच्च भूभाग अध्ययनका लागि विश्वकै महत्वपूर्ण अनुसन्धान केन्द्रमध्ये एक मानिन्छ। प्रयोगशालाका प्राविधिक कर्मचारी काजी विष्टले वायुमण्डलीय प्रदूषण, जलवायु परिवर्तन तथा हिमाली वातावरणमा पर्ने असरबारे नियमित अध्ययन भइरहेको बताएका छन्।
उनका अनुसार तापक्रम, हावाको चाप, आद्र्रता, वर्षा र सौर्य विकिरणसम्बन्धी तथ्यांकहरू रियल टाइममा संकलन र अद्यावधिक गरिन्छ। साथै ब्ल्याक कार्बन र मरकरीजस्ता प्रदूषक तत्वले हिमालमा पार्ने प्रभावबारे पनि अनुसन्धान भइरहेको उनले बताए।
प्रयोगशालामा भूकम्प मापन केन्द्रसमेत सञ्चालनमा रहेको छ। यसमार्फत भूकम्पको दूरी, गहिराइ र अवस्थाबारे विश्लेषण गरिने भए पनि भविष्यवाणी भने नगरिने विष्टले स्पष्ट पारे।
हिमालय क्षेत्रमा भइरहेका टेक्टोनिक गतिविधिबारे पनि अध्ययन भइरहेको जनाइएको छ। भारतीय प्लेट र तिब्बती प्लेट बीचको अन्तरक्रियाले हिमालको बनावट र परिवर्तनमा पार्ने प्रभावबारे अनुसन्धान भइरहेको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्ने यस प्रयोगशालामा दैनिक रूपमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ता र पर्यटकहरूको आगमन हुने गरेको छ।
सन् १९९० मा एभरेस्ट-केटु परियोजना अन्तर्गत स्थापना भएको यो प्रयोगशाला लामो समय बन्द हुँदा सगरमाथा क्षेत्रको वैज्ञानिक अध्ययन प्रभावित बनेको थियो। पुनः सञ्चालनसँगै यहाँबाट वातावरणीय अवस्था, प्रदूषणको स्तर र जलवायु परिवर्तनका प्रभावबारे महत्वपूर्ण तथ्यांक संकलन हुने अपेक्षा गरिएको छ।