दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलान सम्पन्न, अबको दुई हप्तामा यात्रा सहज हुने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १९ शनिबार
310
Shares
काठमाडौँ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्ने क्षेत्रमा सडकको एकतर्फी ढलान गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेको करिब चार किलोमिटर खण्डमा एकतर्फी ढलानको काम सकिएसँगै अब चाँडै उक्त क्षेत्रमा पक्की सडकबाटै सवारी साधनहरू सञ्चालन हुन थाल्नेछन्।
यसअघि दाउन्नेमा ढलानको काम पूर्ण नहुँदा सामान्य वर्षा हुनासाथ सवारी जाम र हिलोको ठुलो समस्या झेल्नुपरेको थियो। ढलान गरिएको सडक पूर्ण रूपमा सुक्न र मजबुत हुन थप चौध दिन लाग्ने भएकाले त्यसपछि मात्रै यस खण्डमा ढलान सडकबाटै नियमित यात्रा गर्न सकिनेछ।
दाउन्नेमा एकतर्फी ढलान सम्पन्न भएसँगै नारायणगढ–बुटवल सडक आयोजनाको पूर्वी खण्डको पुरै ६५ किलोमिटर भाग अब कालोपत्र र ढलानको माध्यमबाट पूर्ण रूपमा जोडिएको छ। यो उपलब्धिले पूर्वी खण्डका सबै क्षेत्रमा कालोपत्र र पक्की सडकमा यात्रा गर्ने बाटो प्रशस्त गरेको छ।
यद्यपि, दाउन्नेको पूर्वी खण्डमा पक्की सडकले जोडिए पनि पश्चिम खण्डमा भने अझै ढलानको काम पूर्ण रूपमा सकिन बाँकी रहेको मन्त्रालयको भनाइ छ। एसियाली विकास बैङ्क (एडिबी) को करिब १७ अर्ब रुपैयाँको ऋण सहयोगमा अघि बढेको यो ११३ किलोमिटर लामो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर निर्माण कार्य अघि बढाइएको हो।
नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यका साथ चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले सुरु गरेको थियो। तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि हालसम्म पटक–पटक म्याद थप गरिएको छ र अहिले चौथो पटक थपिएको म्यादभित्र काम भइरहेको छ।
आयोजना सुरु भएको सात वर्ष पूरा हुन लाग्दा बल्ल पूर्वी खण्डको यात्रा सहज हुँदै गएको छ, जसले यस राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रु र चालकहरूलाई आगामी दिनमा ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ।