काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा सरकार स्थानीय तहको निर्वाचनमा जुटेको र एकता र सहकार्यका आधारमा नै आफू अगाडि बढिरहेको बताएका छन् । दोस्रो लगानी सम्मेलनका लागि बिहीबार मात्रै यहाँ आएका भारतका वित्तमन्त्री अरुणकुमार जेट्लीले प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्रीले सहमति र सहकार्य नै नेपालको राजनीतिक संस्कार भएको बताए।
प्रधानमन्त्रीले नेपालको भौतिक पूर्वाधारको निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । प्रधानमन्त्रीले हुलाकी राजमार्ग, प्रसारण लाइन बिस्तार, महाकाली नदीमा पुल, अरुण तेस्रो जलविद्युत् आयोजना लगायतका पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्यका लागि अगाडि बढ्न वित्तमन्त्रीलाई आग्रह गरे।
प्रधानमन्त्रीले नेपाल सरकार संविधान कार्यान्वयनका लागि क्रियाशील रहेको जेट्लीलाई जानकारी गराए। संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने उनले उल्लेख गए।
भेटमा वित्तमन्त्री जेट्लीले नेपालजस्तो देशका लागि प्रत्यक्ष वैदेशिक लगानी निकै महत्वपूर्ण हुने भन्दै नेपालमा आयोजना गरिएको लगानी सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरे। जेट्लीले आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने भन्दै नेपालले अघि बढाएको आर्थिक विकासमा भारत सहकार्य गर्न तयार रहेको बताए । रासस