arrow

अर्थतन्त्रमा जकडिएको 'लुटतन्त्र' सच्याउने मोडमा छौँ : अर्थमन्त्री वाग्ले [भिडियो]

इमान्दार व्यवसायी डराउनु पर्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
swarnim-wagle-01-18.jpg

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा जकडिएको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्नु नै वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्।

आर्थिक पत्रकार समाज (सेजन) द्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासनको सवालमा अत्यन्तै निर्मम हुने र यसलाई म्याक्रो तथा माइक्रो गरी दुई तहमा सुधार गरिरहेको स्पष्ट पारे।

मन्त्री वाग्लेका अनुसार म्याक्रो सुशासन अन्तर्गत राज्यका नीति र संयन्त्रमा हुने संस्थागत कब्जालाई सच्याउने काम भइरहेको छ भने माइक्रो सुशासनमार्फत आम जनताले सरकारी अड्डामा लाइन बस्नु नपर्ने र घुस खुवाउनु नपर्ने वातावरण बनाउन डिजिटल माध्यमबाट सेवा प्रवाह सुनिश्चित गरिँदै छ।

हालै केही विवादित व्यवसायीहरू पक्राउ परेपछि निजी क्षेत्रले गरिरहेको विरोधप्रति लक्षित गर्दै उनले अपराध गर्ने कसैले पनि उन्मुक्ति नपाउने प्रस्ट पारे। व्यवसायीको आवरणमा अपराध गर्नेहरू कारबाहीमा पर्दा निजी क्षेत्रको मनोबल खस्कियो भन्नु तर्कसंगत नहुने बताउँदै उनले इमानदार उद्यमीहरूलाई नतर्सिन र निर्धक्क भएर काम गर्न आग्रह गरे।

प्रशासनिक सुधारका सन्दर्भमा मन्त्री वाग्लेले राजस्व अनुसन्धान विभागलाई असुली धन्दाको केन्द्र बनेको भन्दै त्यसलाई खारेज गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए। विभागले गर्दै आएका जायज अनुसन्धानका कामहरू अब आन्तरिक राजस्व विभाग वा सम्पत्ति शुद्धीकरण विभागमार्फत हुने र अनावश्यक दुःख दिने कार्य बन्द गरिने उनले बताए। साथै, सरकारले २०१७/१८ सालदेखिका असान्दर्भिक १७ वटा ऐनहरू खारेज गर्ने र विभिन्न १५ वटा प्रतिवेदनका सिफारिसअनुसार कानुनी सुधार गर्ने तयारी गरेको छ।

नेपालको वर्तमान कानुनी व्यवस्थाले कतिपय अवस्थामा इमानदार व्यवसायीलाई समेत अप्ठ्यारोमा पार्ने गरेको स्वीकार गर्दै अर्थमन्त्रीले त्यसमा आवश्यक परिमार्जन गर्ने प्रतिबद्धता जनाए। उनले भारतको पूर्वाधार विकासको नमुनालाई पछ्याउँदै नेपालमा पनि ‘प्राइभेट्ली फाइनान्स्ड इन्फ्रास्ट्रक्चर’ मोडलमा जानुपर्ने र निजी क्षेत्रलाई आर्थिक वृद्धिको मुख्य सारथी बनाउनुपर्नेमा जोड दिए।

सरकार गठन भएको छोटो अवधिमै ३० भन्दा बढी सुधारका प्रयासहरू सुरु भएको दाबी गर्दै उनले भारतीय पर्यटकले सीमा नाकामा भोग्ने झन्झट अन्त्य गर्न अनलाइन प्रणाली सुरु गरिएको र अर्थ मन्त्रालयले डिजिटलाइजेसनका विभिन्न अभियानहरू अघि बढाएको समेत जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ