arrow

'छोटो तर अत्यन्तै शक्तिशाली' सैन्य हमलाको प्रस्ताव

इरानविरुद्ध पहिलो पटक हाइपरसोनिक मिसाइल प्रयोग गर्ने प्रस्ताव

इरानको बाँकी सैन्य शक्ति, त्यहाँका प्रमुख नेताहरू र महत्त्वपूर्ण रणनीतिक पूर्वाधारहरूलाई निशाना बनाउने अमेरिकी उद्देश्य

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
trump-26-4-5.jpg

काठमाडौँ ।  मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाले इरानविरुद्ध पहिलो पटक अत्याधुनिक हाइपरसोनिक मिसाइल प्रयोग गर्न सक्ने सम्भावना बढेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड का कमाण्डर एडमिरल ब्र्याड कूपरले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि हुन सक्ने सम्भावित सैन्य कारबाहीका विभिन्न विकल्पहरूबारे ब्रिफिङ गरेका छन्।

फक्स न्यूजका अनुसार ह्वाइट हाउसको सिचुएशन रुममा भएको उच्चस्तरीय बैठकमा कमाण्डर कूपरले 'छोटो तर अत्यन्तै शक्तिशाली' सैन्य हमलाको प्रस्ताव राखेका छन्। यदि राष्ट्रपति ट्रम्पले पुनः आक्रमणको निर्णय लिएमा यस कारबाहीले इरानको बाँकी सैन्य शक्ति, त्यहाँका प्रमुख नेताहरू र महत्त्वपूर्ण रणनीतिक पूर्वाधारहरूलाई निशाना बनाउने उद्देश्य राखेको छ। 

यसै सिलसिलामा अमेरिकी रक्षा मन्त्रालयले इरानविरुद्ध ‘डार्क ईगल’ नामक अत्याधुनिक हाइपरसोनिक मिसाइल प्रयोग गर्ने विषयमा गम्भीर विचार गरिरहेको छ। झन्डै ३२ सय किलोमिटर (२,००० माइल) टाढासम्म सटीक मार हान्न सक्षम यो मिसाइलको मुख्य लक्ष्य इरानसँग बाँकी रहेका ब्यालिस्टिक मिसाइल लन्चरहरूलाई पूर्ण रूपमा ध्वस्त पार्नु रहेको छ।

सैन्य तयारीलाई थप मजबुत बनाउन अमेरिकाले यस क्षेत्रमा आफ्ना बी-वान बी लेनसर बम्बर विमानहरूको उपस्थिति पनि उल्लेख्य रूपमा बढाएको छ। ठुलो परिमाणमा हतियार बोक्न सक्ने यी शक्तिशाली विमानहरूलाई विशेष गरी हाइपरसोनिक हतियार प्रहार गर्न सक्ने गरी परिचालन गरिँदै छ। 

अमेरिकाले इरानविरुद्ध अपनाउन लागेको यो नयाँ र आक्रामक सैन्य रणनीतिले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप संवेदनशील र जटिल बनाएको छ। अर्कोतर्फ इरानले पनि अमेरिकी नाकाबन्दी र सैन्य दबाबको कडा प्रतिकार गर्ने चेतावनी दिँदै आफ्नो तर्फबाट कुनै पनि आक्रमणको कडा जवाफ दिने तयारी गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ