arrow

आज बुद्ध जयन्ती मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १८ शुक्रबार
buddha-banepa.jpg

काठमाडौं ।  आज वैशाख शुक्ल पूर्णिमा अर्थात् विश्व शान्तिका संवाहक भगवान् गौतम बुद्धको २५७० औँ जन्मजयन्ती नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिनलाई बौद्ध धर्मावलम्बीहरूले 'त्रिसंयोग' को पावन पर्वका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाउने गर्दछन्। हिन्दू धर्मावलम्बीहरूले पनि बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा स्वीकार गर्दै आजको दिन विशेष पूजा आराधना र प्रवचन गर्ने परम्परा रहेको छ।

ईसापूर्व ५६३ मा लुम्बिनीको बगैँचामा जन्मिएका सिद्धार्थ गौतमले मानव कल्याण र विश्व शान्तिका लागि आफ्नो राजकीय सुख त्यागेर कठोर तपस्या गरी ज्ञान प्राप्त गरेका थिए। बुद्धले प्रतिपादन गरेको अहिंसा, करुणा र अष्टाङ्गिक मार्गको दर्शन आजको आधुनिक समाजमा पनि उत्तिकै सान्दर्भिक मानिन्छ। 

बुद्धको यही अतुलनीय योगदानको स्मरण गर्दै आज काठमाडौँको स्वयम्भू, बौद्ध, तथा बुद्धको जन्मस्थल लुम्बिनीलगायतका स्थानमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ। देशभरका विहार, गुम्बा र चैत्यहरूमा बुद्धका उपदेशहरूको चर्चा गर्दै शान्तिको कामना गरिएको छ।

बुद्ध जयन्तीको यस विशेष अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरूले दीप प्रज्वलन, शान्ति पदयात्रा र धर्म देशना जस्ता कार्यक्रमहरू आयोजना गरेका छन्। 

लुम्बिनीमा विशेष समारोहको आयोजना गरी बुद्धका शान्तिका सन्देशहरूलाई विश्वभर फैलाउने प्रयास गरिएको छ। आजको यो दिनले मानिसलाई रिस, राग र द्वेष त्यागेर सत्य, अहिंसा र मानवताको बाटोमा लाग्न प्रेरित गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ