arrow

रोल्पा जीप दुर्घटनामा २० जनाको मृत्यु, थवाङको मेला भर्न जाँदै थिए तीर्थयात्री

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
Accident-sign.jpg

काठमाडौँ । रोल्पाको थवाङमा आज दिउँसो भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ। रुकुम पूर्वबाट रोल्पाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप थवाङ गाउँपालिका-१ सल्याप भन्ने ठाउँमा भिरबाट करिब ८०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। 

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार उद्धार तथा खोजतलासका क्रममा घटनास्थलमा २० जनाको शव फेला परेको छ। यस दुःखद घटनामा रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ का ३२ वर्षीय समिर कामी मात्र घाइते अवस्थामा फेला परेका छन् र उनको हाल आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख विरेन्द्र विश्वकर्माको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो। भौगोलिक विकटता, लगातार भइरहेको वर्षा र रातको समय भएकाले खोजतलास तथा उद्धार कार्यमा निकै कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। 

जीपमा सवार सबै व्यक्तिहरू वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने परम्परागत मेला भर्न जान लागेका तीर्थयात्रीहरू रहेको प्रहरी निरीक्षक थापाले बताए। रातिसम्मको जानकारीअनुसार दुर्घटनामा ज्यान गुमाएका कसैको पनि अझै सनाखत हुन सकेको छैन।

वैशाख पूर्णिमाको पूर्वसन्ध्यामा तीर्थयात्रामा निस्किएका यात्रुहरू दुर्घटनामा परेपछि थवाङ र आसपासका क्षेत्रमा यतिबेला सन्नाटा छाएको छ। प्रहरीले मृतकको पहिचान खुलाउन र दुर्घटनाको थप विवरण सङ्कलन गर्न आफ्नो टोली परिचालन गरिरहेको छ। प्रतिकूल मौसम र कठिन भूगोलका बाबजुद उद्धार टोलीले संकलित शवहरूलाई सुरक्षित स्थानमा ल्याउने प्रयास जारी राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ