काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा ओमानले नेपालसामु जितका लागि ३०६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको विशाल योगफल तयार पारेको हो। ओमानको इनिङ्सलाई मजबुत बनाउन कप्तान जातिन्दर सिंहले विष्फोटक ब्याटिङ गर्दै केवल ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रनको शानदार शतकीय योगदान दिए।
जातिन्दरलाई मध्यमक्रमका ब्याट्सम्यानहरूले पनि राम्रो साथ दिए, जसमा जितेन रमणन्दीले ४३ रन, आर्यन बिष्टले ३५ रन र हमाद मिर्जाले ३० रन जोडे। त्यस्तै आशिष ओडेदारा र विनायक शुक्लाले समान २३–२३ रन थपे भने वसिम अली १२ रनमा अविजित रहे। नेपाली बलरहरूले सुरुवाती ओभरमा दबाब सिर्जना गर्ने प्रयास गरे तापनि बीचका ओभरहरूमा ओमानी ब्याट्सम्यानहरू निकै हाबी भए। नेपालका लागि बलिङतर्फ सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट हात पारे।
नेपाल, युएई र ओमान सम्मिलित यस एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा नेपालको यो दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल अहिले उच्च मनोबलका साथ ३०६ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको छ। घरेलु मैदान र दर्शकको साथमा नेपालले यो ठूलो स्कोर कसरी पछ्याउँछ भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ।