काठमाडौँ । पूर्वी चाडमा पानीको स्रोतलाई लिएर सुरु भएको सामान्य विवादले भयानक हिंसाको रूप लिँदा कम्तीमा ४२ जनाको ज्यान गएको छ। सुडानको सीमा नजिकै पर्ने वाडी फिरा प्रान्तको इगोटे गाउँमा दुई परिवारबीच पानी प्रयोगको विषयमा भएको झडप प्रतिशोधात्मक हिंसामा परिणत भएको हो।
उपप्रधानमन्त्री लिमाने महामतका अनुसार शनिबार सुरु भएको यो झडप चाँडै वरपरका क्षेत्रमा फैलिएको थियो। हिंसालाई नियन्त्रणमा लिन र थप क्षति हुन नदिन सरकारले सेना परिचालन गर्नुपरेको थियो। सुरक्षाकर्मीको सक्रियतापछि हाल स्थिति नियन्त्रणमा आएको र घाइते १० जनाको प्रान्तीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। सरकारले घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाही गर्ने र स्थानीय स्तरमा परम्परागत सहमति मार्फत शान्ति कायम गर्ने प्रतिबद्धता जनाएको छ।
चाडमा पानी, जमिन र चरन जस्ता सीमित स्रोतका लागि किसान र गोठाला समुदायबीच बारम्बार यस्ता हिंसात्मक झडप हुने गरेका छन्। पछिल्लो समय सुडानमा जारी द्वन्द्वका कारण हजारौँ शरणार्थीहरू पूर्वी चाडमा ओइरिएपछि स्थानीय स्रोतहरूमा थप दबाब परेको छ। यसले गर्दा समुदायबीच तनाव बढ्ने र सुरक्षा चुनौती थपिने गरेको विज्ञहरूको विश्लेषण छ।
सीमापारबाट सशस्त्र समूहहरूको घुसपैठ बढेपछि चाड सरकारले गत फेब्रुअरीदेखि नै सुडानसँगको सीमा बन्द गरेको थियो। शरणार्थी सङ्कट र स्रोतको लुछाचुँडीले गर्दा यो क्षेत्र अत्यन्तै संवेदनशील बनेको छ। सरकारले सीमा क्षेत्रको स्थायित्वका लागि थप सुरक्षा उपायहरू अपनाउने बताए पनि सीमित स्रोतसाधनका कारण समुदायबीचको यो द्वन्द्व समाधान गर्नु ठुलो चुनौती बनेको छ।