अव्यवहारिक कर र सुकुमवासी समस्या समाधानको ढिलाइप्रति रास्वपा चिन्तित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
331
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले स्थानीय तहमा देखिएको अव्यावहारिक कर प्रणाली र सुकुमवासी समस्या समाधानमा भइरहेको ढिलाइप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहले कर प्रणाली बनाउँदा संघीय सरकारको कृषि नीतिसँग नबाझिने गरी बनाइनुपर्नेमा जोड दिए। उनले स्थानीय तहलाई स्रोत आवश्यक भए पनि कर प्रणाली प्रभावकारी र न्यायपूर्ण हुनुपर्ने बताए।
पराजुलीले सुकुमवासी समस्यालाई विगत लामो समयदेखि आयोग बनाएर राजनीतिक लाभका लागि प्रयोग गरिएको आरोप लगाए।
“३७ वर्षदेखि आयोग बनाएर कार्यकर्तालाई जग्गा बाँड्ने र भोटको राजनीति भइरहेको छ,” उनले भने।
अब वास्तविक पीडितलाई न्याय दिने गरी संघ-स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ।
उनले कुखुरा, अण्डा र चल्लाजस्ता कृषि उत्पादनमा समेत कर लगाइनु उत्पादनलाई निरुत्साहित गर्ने नीति भएको टिप्पणी गरे।
उनले विगतका राजनीतिक नेतृत्वले अवस्था सुधारभन्दा सत्ता केन्द्रित राजनीति गरेको आरोप लगाउँदै भ्रष्टाचार अन्त्यलाई आफ्नो दलको प्रमुख एजेण्डा भएको बताए। रास्वपा पाँच वर्षभित्र सुशासन र समृद्धिको आधार तयार गर्ने लक्ष्यसहित अघि बढेको उनले उल्लेख गरे।
पराजुलीले स्थानीय तहमा प्रशासनिक हस्तक्षेप र दलगत कर्मचारीकरणले भ्रष्टाचार बढाएको भन्दै संघीय सरकारले पठाउने प्रशासकीय प्रमुख निष्पक्ष हुनुपर्नेमा जोड दिए।