अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी गरेर युद्धविरामको उल्लङ्घन गरेको टिप्पणी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
933
Shares
काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आफ्नो निर्धारित पाकिस्तान भ्रमण स्थगित गरी ह्वाइट हाउसमा भइरहेका महत्त्वपूर्ण बैठकहरूमा सहभागिता जनाएका छन्। ती बैठकहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुश्नर पनि सामेल रहेको रिपोर्ट गरिएको छ।
इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकी उपराष्ट्रपति भान्स सहभागी भएमा मात्र आफू पनि वार्तामा सामेल हुने सर्त अघि सारेका थिए, तर इरानको तर्फबाट कुनै प्रतिनिधि वार्ताका लागि तयार नभएपछि भान्सले पनि आफ्नो भ्रमण स्थगित गर्नुपरेको हो। विशेष गरी भान्स इरानसँग युद्ध गर्नुहुँदैन भन्ने पक्षमा रहे तापनि राष्ट्रपति ट्रम्पले भने युद्ध सुरु गरेका थिए।
यता राष्ट्रपति ट्रम्पले बुधबार समाप्त हुने दुई हप्ताको युद्धविरामलाई थप लम्ब्याउने बताएका छन्। इरानसँगको हालको युद्धविराम बुधबार राति समाप्त हुँदै गरेको अवस्थामा उनले मंगलबार यसलाई विस्तार गर्ने घोषणा गरेका हुन्।
राष्ट्रपति ट्रम्पले इरानको तर्फबाट ठोस प्रस्ताव पेस नभएसम्म र छलफल कुनै निष्कर्षमा नपुगेसम्म युद्धविराम जारी रहने बताए। यद्यपि अमेरिकी सैन्य बलले इरानविरुद्धको नाकाबन्दीलाई भने निरन्तरता दिने र सेना सधैँ तयार र सक्षम रहने उनले स्पष्ट पारे।
यसअघि ट्रम्पले युद्धविराम लम्बिने सम्भावना अत्यन्त कम भएको बताएका थिए भने मंगलबार बिहान अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफू युद्धविराम गर्ने पक्षमा नरहेको र इरानसँग कुनै सम्झौता नभएमा पुनः बमबारी गर्ने धम्की समेत दिएका थिए।
अर्कातर्फ इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी गरेर युद्धविरामको उल्लङ्घन गरेको टिप्पणी गरे।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने वासिङ्टनबाट आएका विरोधाभासी सन्देशहरूका कारण आफूहरू असन्तुष्ट रहेको र शान्ति वार्तामा सहभागी हुने वा नहुने भन्नेबारे अझै कुनै निर्णय नगरेको बताए। यो परिस्थिति छिचोल्न ह्वाइट हाउसमा भइरहेका उच्चस्तरीय छलफलहरूलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।