arrow

नियमावली मस्यौदा समितिले सभामुख अर्याललाई बुझायो प्रतिवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
maseuda-samiti-pratibedan.jpg

काठमाडौँ ।  प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्य सम्पादन सम्पन्न गरी मंगलबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्याललाई प्रतिवेदन बुझाएको छ।

प्रतिवेदन बुझ्दै सभामुख अर्यालले समितिले तोकिएको समय सीमाभित्रै काम सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै यसले आगामी दिनका लागि सकारात्मक नजिर बसालेको बताए।

कुनै पनि काम समयमै सम्पन्न गर्दा मात्र व्यक्तिगत र संस्थागत रूपमा गर्व महसुस हुने र आफूले चुनेका प्रतिनिधिहरूले काम गरिरहेको जनतालाई पनि आभास हुने धारणा सभामुखले राखे।

मस्यौदा तयार पार्ने क्रममा विशेषज्ञ समूह, कर्मचारी, सञ्चारकर्मी र विभिन्न राजनीतिक दलका सांसदहरूसँग व्यापक संवाद गरिएको भन्दै उनले समितिको प्रशंसा गरे। विभिन्न दलहरूको प्रतिनिधित्व रहेकाले सदस्यहरूले आ-आफ्नो पार्टीसँग समेत पर्याप्त छलफल गरेर यसलाई पूर्णता दिएको उनले उल्लेख गरे।

उनले भने, ‘हामीले कुनै पनि काम समय सीमाभित्र सम्पन्न गर्दै गयौँ भने तब मात्र हामीले आफूप्रति पनि गर्व महसुस गर्छौँ र जनताले पनि आफूलाई जे कामका लागि पठाउनुभएको हो, त्यो पाएको महसुस गर्नुहुनेछ।

समितिले प्रतिवेदन बुझाए पनि यो अन्तिम प्रक्रिया होइन। यसलाई सदनमा पेस गर्ने र संशोधनका लागि समय दिने व्यवस्था छ। यदि कुनै कमी-कमजोरी वा त्रुटि छन् भने सुधार्ने मौका अझै बाँकी छ।’

व्यवस्थापिकाको संरक्षकको हैसियतले सभामुखले समितिका सदस्यहरूले बिदा र समयको प्रवाह नगरी अहोरात्र खटेर कार्य सम्पन्न गरेकोमा व्यक्तिगत र संस्थागत रूपमा आभार प्रकट गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ