सिरहा कारागारमा तनाव: २२ कैदीबन्दी नियन्त्रणमा, अन्यत्र सारिँदै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ८ मंगलबार
702
Shares
काठमाडौँ । सिरहा कारागारभित्र आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास भएपछि उत्पन्न विवादलाई नियन्त्रणमा लिन प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। आज बिहानै कारागारभित्र विशेष 'अप्रेसन' चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीहरूको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि तनाव सुरु भएको थियो। कारागारभित्रै गुटबन्दी गरी अशान्ति फैलाउन खोजेपछि सुरक्षा निकायले हस्तक्षेप गर्नुपरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले कारागारको सुरक्षा र अनुशासन कायम राख्न बिहानै कारबाही गरिएको जानकारी दिए। उनले घटनाबारे स्पष्ट पार्दै केही कैदीबन्दीले आन्तरिक प्रशासन आफ्नो नियन्त्रणमा लिने उद्देश्यले चौकीदारलाई निष्कासनको प्रयास गरेपछि सुरक्षा चुनौती बढेको बताए। थप झडप हुन नदिन नियन्त्रणमा लिइएका २२ जनालाई आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी अन्य जिल्लाका कारागारहरूमा स्थानान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
सिरहा कारागारमा यस्तो विवाद पहिलो पटक भने होइन। यसअघि गत माघ महिनामा कारागारभित्रै कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेपछि तत्कालीन चौकीदार इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको थियो। त्यतिबेला इन्द्रजितको पक्राउको विरोधमा कैदीबन्दीहरूले दुई दिनसम्म प्रदर्शन समेत गरेका थिए।