प्रधानमन्त्री साह र विश्वविद्यालयका उपकुलपतिहरूबीच सिंहदरबारमा छलफल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
663
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले देशका विभिन्न विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग सोमबार सिंहदरबारमा छलफल गरेका छन्। प्रधानमन्त्री स्वयं कुलपति रहने ११ वटा विश्वविद्यालय र सात वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुखहरूलाई शैक्षिक क्षेत्रका समस्या र तिनको समाधानका उपायबारे विमर्श गर्न बैठकमा बोलाइएको थियो।
प्रधानमन्त्री कार्यालयका अनुसार उक्त छलफलमा विश्वविद्यालयहरूमा रहेका विद्यमान समस्याहरू र तत्कालै समाधान गर्न सकिने नीतिगत तथा व्यावहारिक पक्षबारे केन्द्रित रहेर संवाद भएको छ। बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री साहले संवाद गरेका छन्। विश्वविद्यालयका अतिरिक्त नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले छुट्टाछुट्टै र सामूहिक छलफल गरी शैक्षिक तथा प्राज्ञिक सुधारका लागि सुझाव लिएका छन्।