देशभरका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
682
Shares
काठमाडौँ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज सोमबार पनि देशभरिका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो आइतबार र आज दुई दिन सञ्चालन गरेको यस अभियानमार्फत बालबालिकाहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न लागिएको हो।
स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमा ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल प्रदान गरिँदैछ। साथै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ समेत खुवाइँदैछ।
सरकारले आफ्ना नजिकैका वितरण केन्द्र वा वडा कार्यालयहरूमा सम्पर्क गरी बालबालिकाहरूलाई यी औषधि खुवाउन अभिभावकहरूलाई आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष दुई पटक (कात्तिक र वैशाखमा) यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।