अमेरिकी वार्ता टोलीको नेतृत्वबाट जेडी भान्सलाई हटाए ट्रम्पले
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
1.5k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि इस्लामावादमा हुने आगामी वार्तामा उपराष्ट्रपति जेडी भान्स सहभागी नहुने बताएका छन्। वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबारसम्ममा पाकिस्तान पुग्ने तय भए पनि अन्तिम समयमा भान्सलाई टोलीबाट हटाइएपछि वार्ताको वातावरण अन्योलपूर्ण बनेको छ।
यसअघि ट्रम्प प्रशासनका ऊर्जामन्त्री र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूतले भान्सले नै वार्ताको नेतृत्व गर्ने बताएका थिए। तर, राष्ट्रपति ट्रम्पले एबीसी न्यूजसँग कुरा गर्दै भान्सको भ्रमण रद्द हुनुको मुख्य कारण 'सुरक्षा' मात्र भएको स्पष्ट पारे। उनले इरानसँग सम्झौता गर्न सक्ने भान्सको क्षमतामा कुनै शङ्का नरहेको र उनी अत्यन्तै सक्षम रहेको समेत उल्लेख गरे। यसअघि अप्रिल ११ मा भएको पहिलो चरणको वार्तामा भेन्सले नै अमेरिकी टोलीको नेतृत्व गरेका थिए।
वार्ताको पूर्वसन्ध्यामा ट्रम्पले इरानमाथि दुई हप्ताको युद्धविराम पूर्ण रूपमा उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत इरानलाई 'उचित सम्झौता' स्वीकार गर्न चेतावनी दिँदै भनेका छन्, "यदि तेहरानले सम्झौता अस्वीकार गरेमा अमेरिकाले इरानका हरेक पावर प्लान्ट र पुलहरू ध्वस्त पार्नेछ।"
रणनीतिक रूपमा महत्वपूर्ण 'स्ट्रेट अफ हर्मुज' जलमार्ग आइतबार पनि बन्द रहेको छ। इरानले एक दिनअघि जलमार्ग खोल्ने बताए पनि शनिबार पुनः बन्द गर्ने घोषणा गरेको थियो। यसैबीच, बेलायतको सामुद्रिक सुरक्षा निकायले इरानको रिभोलुसनरी गार्ड्सले एउटा ट्याङ्करमाथि गोली चलाएको र अर्को एक जहाजमाथि अज्ञात वस्तुबाट आक्रमण भएको जानकारी दिएको छ।
अमेरिका र इरानबीचको दुई हप्ता लामो युद्धविराम आगामी बुधबार सकिँदैछ। सोमबारको वार्तामा अमेरिकी टोलीको नेतृत्व कसले गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन, यद्यपि ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नर वार्ताका लागि पुग्ने सम्भावना रहेको छ।