arrow

मधेशी मोर्चा विना पनि चुनाव हुन्छः ज्ञवाली

मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छः यादव

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
Pradip-gywali-news.jpeg
काठमाडौं सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले मधेशी मोर्चाले भाग नलिएपनि चुनाव भएरै छाड्ने बताएका छन्। बुधबारको साक्षात्कारमा नेता सापकोटाले सबै दलले चुनावमा भाग लिनुपर्ने बताउँदै भने,‘निर्वाचन ऐतिहासिक कुरा हो, अब पनि मोर्चाले चुनावमा भाग लिन्न भन्नुहुँदैन, यदि मोर्चाले भाग नलिए पनि चुनाव हुन्छ।’ उनले मोर्चाले चुनावमा भाग निलए उसकै लागि आत्मघाती हुने बताए।  साक्षात्कारमा सापकोटाले धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले सिंहदरबारको अधिकार जनतामा पुर्याउने अवसरलाई सबै दलहरुले उपयोग गर्नुपर्नेमा जोड दिए। उनले भने,‘चुनाव अहिलेको अपरिहार्य आवश्यकत्ता हो, संविधान कार्यान्वयनको लागि पनि ०७४ माघ ७ गतेभित्रै तीन वटै तिहको निर्वाचन गराउनुपर्नेछ, त्यसैले सबै दल चुनावको लागि तयारी हुनुपर्छ।’ उनले मधेशी मोर्चामा आत्मविश्वासको कमी रहेको समेत आरोप लगाए।  सापकोटाले भने,‘मोर्चाका नेताहरुमा आत्मविश्वासको कमी छ, मधेशी जनता राष्ट्रियताका पहरेदार हुन्, मधेशका जनतालाई अधिकार दिने कुरामा नेताहरु किन डराउँछन् ?’ 
 
सापकोटाले प्रचण्ड प्रधानमन्त्री बनेदेखि नै मधेश, हिमाल, पहाडलाई जोड्न प्रयत्न गरेको उल्लेख गर्दै भने,‘प्रधानमनत्री प्रचण्डको भगीरथ प्रयत्न नै यसैको लागि हो, मधेशी मोर्चालाई आँफैलाई चाहिएको संविधान संशोधनको लागि कुनै चिन्ता छैन, उल्टै प्रस्ताव पारित नभए चुनाव हुन दिन्नौं भनेर घुर्काउने काम गर्नुहुन्छ, सरकार त संशोधन प्रस्ताव पारित गराउनको लागि पूर्ण विश्वस्त छ।’
 
उनले सरकारले निर्वाचनको मिति घोषणा गरेर साहसिक कदम भएको टिप्प्णी गरे। उनले केही दल र व्यक्तिहरुले पहिले केन्द्रको चुनाव गर्नुपर्छ भनेर माँग गरिरहेकोप्रति टिप्पणी गर्दै भने,‘केन्द्रको चुनाव पहिले गर्ने कुरा उल्टो कुरा हो।’ 
उनले चुनावको मिति घोषणा भैसकेको अवस्थामा बाबुराम भट्टराईले चुनावको मिति फिर्ता लिनुपर्छ भनेर माँग गर्नु मुर्खता र उदेक लाग्दो कुरा भएको आरोप लगाए।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो जनताको नाममा गरेको सम्बोधनको आफ्नो पार्टीले स्वागत गरेको बताए। 
 
उनले प्रधानमन्त्रीले चुनावप्रति अठोट देखाएको भन्दै उक्त अठोट व्यवहारमा लागु होस् भन्ने आफूहरुको शुभकामना र चाहना रहेको बताए। ज्ञवालीले भने,‘बैशाख ३१ आउँन अब जम्मा ७३ दिन बाँकी छ, चुनाव गर्ने समय छोटो छ, निर्वाचन सम्पन्न गर्नको लागि सहयोग पुर्याउन सबै खाले सहयोग गर्न हाम्रो पार्टी तयार छ।’
 
उनले निर्वाचनको अवरोध गर्नुभन्दापनि सबै दल निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिए। उनले थपे,‘सबै दललाई चुनावमा ल्याउनको लागि सरकारले पहल गर्नुपर्छ।’ उनले मधेशी मोर्चाले पनि तराईमा आफ्नो वर्चस्व छ भनेर दाबी गरिरहेकोले चुनावमा भाग लिएर त्यो सिद्ध गरेर देखाउन चूनौति दिए। उनले थपे,‘मोर्चालेपनि चुनावमा भाग लिएर मतमार्फत आफू बलियो छु है भनेर देखाए त भैहाल्यो नि?’  उनले स्थानीय तहलाई दिईएको अधिकार उपर्युक्त भएको उल्लेख गर्दै भने,‘अहिले संख्या बढाउने कुरा भैरहेको छ, संवैधानिक आयोगले निर्धारण गरेको संख्यलाई कार्यकारीले बढाउने कुरा भैरहेको छ, यसको बारेमा गहन छलफल होस्।’
 
उनले मधेशी मोर्चा नआउँदापनि स्थानीय तहको निर्वाचन हुने दाबी गरे। उनले थपे,‘सकेसम्म ल्याउने कोशिश भैरहेको छ, यो सरकारको काम हो, तर उहाँहरु नआएपनि चुनाव हुन्छ, हिजो मोहन बैधजीहरुलेपनि दोस्रो संविधानसभाको चुनाव बहिष्कार गरेकै हो नि, तर ७६ प्रतिशतले चुनावमा भाग लिएका हुन्।’ उनले चुनाव हुनै दिन्न भनेर मोर्चाले धम्कीको राजनीति गर्न नमिल्ने स्पष्ट पारे।  उनले थपे,‘सार्मथ्य छ भने मधेशमा २० प्रतिशत मत ल्याएर देखाउनुहोस्, हामी उहाँहरुको कुरामा विचार गर्न सक्छौं।’ उनले संविधान संशोधनमा आफ्नो पार्टीको धारणा यथावत रहेको जिकिर गरे। 
 
उनले मधेशी मोर्चाका नेतृत्वले चुनावमा भाग नलिएपनि स्थानीय कार्यकर्ताहरुले चुनावमा भाग लिने विश्वास व्यक्त गरे। उनले अहिलेको अर्जुनदृष्टि नै चुनाव भएको जिकिर गरे।  नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले संविधान कार्यान्वयनको लागि पनि निर्वाचन आवश्यक रहेको स्पष्ट पारे । उनले भने,‘संविधान कार्यान्वयनको लागि तीन वटै तहको निर्वाचन समयमै गर्नुपर्छ, निर्वाचनको लागि संविधान संशोधन गर्नुपर्छ, जुन कुरा संविधान जारी गर्दा तीन दलकै प्रमुख नेताहरुले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।’
 
उनले संविधानलाई सबै स्विकार्य बनाउनको लागि पनि संशोधन आवश्यक रहेकोमा जोड दिँदै थपे,‘संविधानलाई सबैको स्विकार्य बनाउनको लागि संशोधन गर्नुपर्छ, यो कुरा संविधान जारी गर्दा तीन वटै दलका नेताहरुले भन्नुभएको थियो।’ उनले आफ्नो पार्टी बैशाख ३१ गते निर्वाचन गर्ने र संविधान संशोधन गर्ने कुरामा पूर्ण प्रतिबद्ध रहेको बताए। 
 
मोर्चाका नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र चुनावको विरोधमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।  यादवले भने,‘संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएर सशक्त प्रतिवाद गर्छौं।’ उनले सरकारसँग मोर्चाले तीन बुँदे सम्झौता गरेकोमा अहिलेसम्म कार्यान्वयन नुहुनु दुःखदायी कुरा भएको गुनासो पोखे। 
 
यादवले भने,‘सरकारसँग मोर्चाले गरेको तीन बुँदे सहमतिमा अहिलेसम्म केहीपनि कार्यान्वयन भएन, अहिलेसम्म सहिद घोषणा भएन, मुद्दा फिर्ता भएन, बरु उल्टै मुद्दा लगाउने काम भएको छ, औषधी उपचार दिईएन्।’ उनले निर्वाचन घोषणा गर्नु संघीयतालाई समाप्त पार्नु भएको समेत आरोप लगाए। उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन अपुरो, अधुरो रहेको आरोप लगाए। उनले संशोधन प्रस्ताव पारित नभए प्रलय आउने समेत चेतावनी दिए। उनले संशोधन प्रस्ताव परिमार्जनसहित नै पारित गर्नुपर्ने बताए। उनले भने,‘सरकारले विश्वासघात गर्दैछ, मधेशी मोर्चा मध्यमार्गी भएर देशलाई एकता बनाउनमा केन्द्रित छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ