राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन
'प्रभावमा होइन, स्वभावमा काम गर्छु'
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
817
Shares
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत रूपमा चयन भएका छन्। शुक्रबार बसेको समितिको बैठकले सांसद ढकाललाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।
सभापतिमा चयन भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ढकालले समितिभित्र कसैको 'प्रभाव' मा परेर नभई आफ्नो 'स्वभाव' अनुसार निष्पक्ष रूपमा कार्यसम्पादन गर्ने बताए। उनले सदन र समितिको कार्यप्रकृति फरक हुने उल्लेख गर्दै समितिमा दलगत स्वार्थभन्दा माथि उठेर गहन बहस हुने विश्वास व्यक्त गरे।
आफ्नो आगामी कार्यशैलीबारे उनले भने, "समितिभित्र स्वभावमा काम गर्ने, प्रभावमा काम नगर्ने मेरो मुख्य सिद्धान्त हुनेछ। सदनमा दलीय आधारमा बहस भए पनि समितिमा दलभन्दा बाहिर निस्केर छलफल गरिन्छ। माननीयज्यूहरूको रचनात्मक सुझाव र खबरदारीलाई ग्रहण गर्दै मेरो विगत ३१ महिनाको अनुभवलाई थप परिष्कृत गरेर लैजाने छु।"
ढकालले आफूले प्राप्त गरेको यो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने र राज्य व्यवस्था तथा सुशासनका क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत जनाए।