लेखा समितिको सभापतिमा कांग्रेसका भरतबहादुर सर्वसम्मत निर्वाचित [भिडियो]
आर्थिक सुशासन र वित्तीय अनुशासन कायम गर्ने प्रतिवद्धता
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
735
Shares
काठमाडौँ । सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। शुक्रबार बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य सीताराम साहले खड्काको मात्र उम्मेदवारी परेकाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरे। सभापति पदका लागि खड्कालाई मोहनबहादुर आचार्यले प्रस्ताव गरेका थिए।
निर्वाचित भएपछि सभापति खड्काले सार्वजनिक लेखा समितिलाई एक महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताए। उनले आफ्नो कार्यकालमा आर्थिक सुशासन र वित्तीय अनुशासनलाई प्रमुख एजेन्डा बनाउने स्पष्ट पारे। विगतका अनुभव, योग्यता र क्षमतालाई मुलुकको हितमा प्रयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन्।
सभापति खड्काले विगतमा देखिएका विसङ्गतिहरूलाई अब दोहोरिन नदिने दृढता व्यक्त गरे। उनले संघीय सरकारदेखि स्थानीय तहसम्म व्यापक सुधारको आवश्यकता औँल्याउँदै सरकारी निकायहरूमा पारदर्शिता र जवाफदेहिता कायम गर्न समिति सक्रिय रहने बताए।
उनले आफ्नो योजना सुनाउँदै भने, "आर्थिक अनुशासन र वित्तीय सुशासन कायम नगरी मुलुक अघि बढ्न सक्दैन। कुनै पनि देशको विकास त्यहाँको आर्थिक अनुशासनमा निर्भर हुन्छ। त्यसैले अब हामीले संघदेखि स्थानीय तहसम्मै सुधार गरेर नागरिकलाई सुशासनको प्रत्यक्ष अनुभूति दिलाउनुपर्छ। मैले यसैलाई आफ्नो मुख्य कार्यभार मानेको छु।"
खड्काले आर्थिक पारदर्शिता नै दिगो विकासको आधार भएको उल्लेख गर्दै नागरिकले राज्यका निकायहरूबाट सुशासनको महसुस गर्ने वातावरण सिर्जना गर्न आफूले प्राथमिकता दिने बताए। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय परम्पराको सम्मान गर्दै लेखा समितिको सभापतिमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेसँगै खड्का सर्वसम्मत निर्वाचित भएका हुन्।