काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूतले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयलका अनुसार दुवै देशका राजदूतहरूले मन्त्री खनाललाई बुधबार उनको कार्यकक्षमा भेट गरेका हुन् । साउदी राजदूत फहद मोहम्मद ए मनिख्रसँगको भेटमा दुई देशबीचको सहकार्यलाई अझ विस्तार गर्ने तथा नेपालको सामाजिक–आर्थिक विकासका विभिन्न क्षेत्रमा साउदी लगानी आकर्षित गर्ने विषयमा छलफल भएको थियो ।
त्यसैगरी यूएईका राजदूत अब्दुल्ला अल शाम्सीसँगको भेटमा नेपाल–यूएईबीचको दीर्घकालीन सम्बन्ध सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।
उनीहरूबीच आर्थिक साझेदारी अभिवृद्धि, नयाँ सहकार्यका क्षेत्र पहिचान गर्ने तथा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा सहयोग बढाउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।