युद्ध अन्त्य गर्ने सम्झौता स्वीकार गर्न इरानलाई अमेरिकी दबाब
सम्झौता अस्विकार गरेमा इरानमाथि पुनः हवाई आक्रमण शुरू गर्ने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
1.7k
Shares
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले इरानलाई मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने सम्झौता स्वीकार गर्न कडा चेतावनी दिएको छ। यदि तेहरानले सम्झौता अस्विकार गरेमा इरानमाथि पुनः हवाई आक्रमण सुरु गर्ने र नौसैनिक नाकाबन्दी लगाउने वाशिङ्टनले स्पष्ट पारेको छ।
यो चेतावनी पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनिरले तेहरानमा इरानी शान्ति वार्ताकारहरूसँग भेट गरेलगत्तै आएको हो। पाकिस्तानी सेना प्रमुख मुनिर र इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफबीच तेहरानमा भेटवार्ता भएको इरानी सरकारी टेलिभिजनले पुष्टि गरेको छ। गालिबाफले गत हप्ता पाकिस्तानमा भएको पहिलो अमेरिका-इरान बैठकमा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
अमेरिकी रक्षा मन्त्री हेगसेथले पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा इरानले 'गलत निर्णय' गरेमा अमेरिकाले नाकाबन्दी गर्ने र त्यहाँका पूर्वाधार एवं ऊर्जा संरचना ध्वस्त पारिदिने चेतावनी दिए। उता ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले भने पाकिस्तानी राजधानी इस्लामावादमा थप वार्ता हुने सम्भावना रहेको र आफूहरू सम्झौताप्रति आशावादी रहेको बताएकी छन्।
अमेरिकाले नयाँ वार्ताको अपेक्षा गरे पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी तत्काल नहटाउने अडान राखेको छ। अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल डान केनका अनुसार नौसैनिक नाकाबन्दी इरानी बन्दरगाहमा आउने र जाने सबै जहाजमा लागू हुनेछ। उनले चेतावनी दिँदै भने, "यदि उनीहरूले यो नाकाबन्दीको पालना गरेनन् भने हामी बल प्रयोग गर्न पछि हट्ने छैनौँ।" इरानले अस्थायी युद्धविरामको समयलाई आफ्नो सेना पुनः शस्त्रीकरण गर्न प्रयोग गर्न सक्ने भन्दै अमेरिकाले निगरानी बढाएको छ।