मेष-२०८३: बुद्धि र भाग्यको साथमा शनिको कडा दृष्टि, कस्तो होला यो वर्ष ?
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
734
Shares
मेष-२०८३
मेष राशिका लागि ग्रहगोचर राम्रा छन्। असोजदेखि बृहस्पति आफ्नो अनुकूल रहनेछ । जसका कारणले आर्थिक र बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तानको विद्यामा पनि निकै प्रगति हुनेछ। कुनै विशेषकार्य सम्पन्न हुनेछ। स्थिर सम्पत्ति जोडिने योग रहेको छ । कृषि तथा व्यावसायिक क्षेत्रमा उन्नति हुनेछ । तर आर्थिक लेनदेनमा सावधानी अपनाउन आवश्यक छ। आद्य साढेसाती शनिका कारण यसवर्ष अनुकूल हुनेछैन । आर्थिक हानी, धन खर्च परिवार तथा आफन्तजनमा मनमुटाव हुनेछ । साथै व्यापारमा घाटा, कुनै अप्रिय घटना पनि घट्न सक्ने भएकाले सतर्क रहनुपर्नेछ । राहु ग्रह अनुकूल हुनाले आकस्मिक लाभ, कार्यसिद्धि, परिवारजनको सुखमा पनि केही वृद्धि हुनेछ । विद्यार्थी वर्गले विशेष परिश्रम गरेमा निकै सफलता पाउनेछन्।
साथै वर्षको प्रारम्भमा बृहस्पति र केतुको अनुकूल गोचरका कारण आत्मविश्वास बढ्ने, मन प्रशन्न रहने तथा नयाँ काम शुरू गर्ने ऊर्जा प्राप्त हुनेछ । यो वर्षमा तपाईंले आँटेका कामहरू सहज रूपमा अघि बढ्नेछन् । तर जेठ महिनापछि बृहस्पति र केतुको गोचर परिवर्तन हुँदा पारिवारिक सम्बन्धमा केही तनाव, दाजुभाइ तथा आफन्तसँग मनमुटाव, अध्ययनमा ध्यान केन्द्रित गर्न कठिनाइ तथा सन्तान पक्षबाट चिन्ता बढ्न सक्ने संकेत देखिन्छ ।
राहु ११औँ भावमा प्रवेश गरेपछि आम्दानीका नयाँ स्रोतहरू खुल्ने, व्यवसायमा विस्तार हुने तथा अधुरा कामहरू सम्पन्न हुने योग बन्नेछ । यद्यपि शनिको प्रतिकूल प्रभाव वर्षभरि रहने भएकाले आलस्यता, ढिलासुस्ती, अनावश्यक आरोप वा आलोचना सामना गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले धैर्य र विवेक प्रयोग गर्नु अत्यन्त आवश्यक हुनेछ । यो वर्ष असार, असोज, माघ र फागुन महिना विशेष रूपमा अनुकूल रहनेछन् भने साउन, मङ्सिर र चैत महिना आर्थिक तथा पारिवारिक दृष्टिले केही चुनौतीपूर्ण देखिन्छन् । अन्य महिना सामान्य रहनेछन् ।
समग्रमा यो वर्षको
वैशाखः नयाँ योजना र यात्राका अवसर।
जेठः शत्रु तथा प्रतिस्पर्धीबाट तनाव।
असारः आर्थिक लाभ र अवसर।
साउनः मान–सम्मानमा कमी।
भदौः खर्च वृद्धि र मानसिक चिन्ता।
असोजः शत्रुमाथि विजय र सफलता।
कार्तिकः प्रतिष्ठा र यश प्राप्ति।
मङ्सिरः शारीरिक थकान र तनाव।
पुसः झुट्टा आरोप वा विवाद।
माघः कार्यसिद्धि र उपलब्धि।
फागुनः धन लाभ र खुशी।
चैतः खर्च वृद्धि तर व्यापारमा लाभ।
जागिरः मेष राशिका व्यक्तिहरूका लागि यो वर्ष करियरका हिसाबले प्रगतिशील रहनेछ । कार्यक्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ । नयाँ जिम्मेवारीहरू आउन सक्नेछन्, जसले भविष्यमा राम्रो परिणाम दिनेछन् । प्रतिस्पर्धा बढे पनि तपाईंको पराक्रम र निर्णय क्षमताले सफलता दिलाउनेछ । शनिको प्रभावले कहिलेकाहीँ अवरोध ल्याए पनि अन्ततः मेहनतको फल प्राप्त हुनेछ ।
आर्थिकः आर्थिक पक्ष बलियो रहने संकेत देखिन्छ । व्यापार व्यवसायमा विस्तार हुने, आम्दानीका नयाँ स्रोतहरू थपिने र धन संचय गर्ने अवसर प्राप्त हुनेछ । वस्त्र, कागज, सञ्चार तथा सेवा क्षेत्रमा लगानी गर्नेहरूलाई विशेष लाभ हुने देखिन्छ । शेयर बजारमा लगानी मध्यम फलदायी रहनेछ, त्यसैले सोचविचार गरेर निर्णय लिनु राम्रो हुनेछ ।
अध्ययनः विद्यार्थीहरूका लागि वर्षको प्रारम्भ निकै अनुकूल रहनेछ । प्रतिस्पर्धामा सफलता, परीक्षामा राम्रो नतिजा तथा नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ । बीचतिर केही ध्यान विचलन भए पनि अन्तिम समयमा सफलता प्राप्त हुने देखिन्छ । वैदेशिक अध्ययनका अवसर पनि प्राप्त हुन सक्छन् ।
पारिवारिकः पारिवारिक जीवन सामान्यदेखि राम्रो रहनेछ । दाम्पत्य जीवनमा समझदारी बढ्नेछ। प्रेम सम्बन्ध सुदृढ हुने संकेत देखिन्छ । तर जेठपछि साना विवादहरू आउन सक्ने भएकाले धैर्य अपनाउनु आवश्यक छ। सन्तान पक्षबाट मिश्रित फल प्राप्त हुनेछ ।
प्रेम सम्बन्धः प्रेम सम्बन्धमा प्रारम्भ राम्रो रहनेछ । युवा वर्गले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने सम्भावना छ । तर बीचतिर साना गलतफहमीले तनाव उत्पन्न गर्न सक्छ। सहकर्मी तथा साथीभाइबाट सहयोग प्राप्त हुनेछ, तर छरछिमेकमा विवादबाट टाढा रहनु उपयुक्त हुनेछ ।
स्वास्थ्यः स्वास्थ्यका दृष्टिले वर्ष मध्यम रहनेछ । शनिको प्रभावले हाड-नसा, जोर्नी तथा थकानसम्बन्धी समस्या देखिन सक्छ। नियमित व्यायाम, सन्तुलित आहार र मानसिक शान्तिमा ध्यान दिनु आवश्यक छ । शनिदेवको उपासना, शिवजीको आराधना तथा “ॐ शं शनैश्चराय नमः” मन्त्र जप लाभदायी हुनेछ ।
प्रतिकूल महिनाः साउन, मङ्सिर र चैत।
अनुकूल महिनाः असार, असोज, माघ र फागुन।
शुभ रंगः रातो, पहेँलो र गुलाबी।
शुभ अंकः ४, ५ र ८।
शुभ बारः आइतबार, मङ्गलबार र बिहीबार।
उपायः यस वर्ष दशा शान्तिका लागि शनिको जप, पाठ, पिपलपूजा, श्री हनुमानजीको आराधना गर्नाले शान्ति मिल्नेछ। साथै भगवान गणेशको विशेष आराधना गर्नुपर्ने हुन्छ साथै मंगलबारको दिन हनुमान चालिसाको पाठ पनि अत्यन्त लाभकारी सिद्द हुने छ । शनिगत शान्तिका उपायहरू गर्नुहोला कालो कपडा काल जुता, कालो छाता इत्यादि दान गरेमा अत्यन्त लाभप्रद स्थिति निर्माण हुन सक्छ।