काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्तिको स्रोत तत्काल सार्वजनिक गर्न माग गरेका छन्। सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सरकारको पारदर्शितामाथि प्रश्न उठाउँदै यस्तो माग राखेका हुन्।
नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणको आयस्रोत स्पष्ट पार्न सरकारसँग माग गरे। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भए पनि त्यसको वैधानिक स्रोत नखुलेको भन्दै उनले जनताले यसको जवाफ खोजिरहेको बताए।
उनले भने, “मन्त्रीजीहरूले सार्वजनिक गर्नुभएको सम्पत्तिको आयस्रोत के हो? यो जनतालाई वैधानिक रूपमा स्पष्ट पार्न जरुरी छ। तब मात्र सरकारले सुरु गरेको सम्पत्ति शुद्धीकरण अभियानमा विश्वास गर्न सकिन्छ। यो मेरो मात्र नभई सम्पूर्ण जनताको चासोको विषय हो।” सांसद कर्णले आफ्नो पार्टीले २०४६ सालयताका सबै राजनेता, कर्मचारी, व्यवसायी र पत्रकारहरूको सम्पत्ति छानबिन हुनुपर्ने अडान राखेको समेत उल्लेख गरे।
बैठकमा नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले सरकार संसद् र संसदीय समितिप्रति उत्तरदायी नभएको भन्दै आक्रोश व्यक्त गरे। सरकार गठन भएको १७ दिन बितिसक्दा पनि मन्त्रीहरूले संसद्मा नबोलेको भन्दै उनले कटाक्ष गरे।
सांसद पोर्तेलले भने, “सदन चलेको हप्ता दिन भइसक्यो, ढुङ्गो बोल्ला तर हाम्रा मन्त्रीजीहरू बोल्दैनन्। सरकारको आवाज सदनमा सुनिँदैन, बरु आश्वासनहरू पत्रिका र फेसबुकका पेजमा पढ्नुपर्ने विडम्बनापूर्ण अवस्था छ।” उनले सरकारले के कस्तो आश्वासन दिएको छ र त्यसको कार्यान्वयनको अवस्था के छ भन्नेबारे मन्त्रीहरूलाई समितिमा बोलाएरै छलफल गर्नुपर्ने आवश्यकता औँल्याए।
सांसद पोर्तेलले वर्तमान सरकारले संविधान र संसद्ले बनाएका कानुनको ठाडो उल्लङ्घन गरिरहेको आरोप समेत लगाए। सरकार गठनको छोटो समयमै कानुनी प्रक्रिया मिचिन थालेको भन्दै उनले सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाए।
बैठकले सरकारलाई संसदीय गरिमाको सम्मान गर्न र सार्वजनिक गरिएका विषयहरूमा जनतालाई स्पष्ट पार्न दबाब दिएको छ।