निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र मजबुत हुँदैन: मनिष झा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
801
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलता बलियो बनाएरमात्रै देशको अर्थतन्त्र मजबुत बनाउन सकिने बताएका छन् ।
राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले निजी क्षेत्रको विकासविना आर्थिक समृद्धि सम्भव नभएको बताए।
उनका अनुसार कुनै पनि देशको अर्थतन्त्र तीन तह-प्राइभेट, गभर्मेन्ट र डेभलपमेन्ट इकोनोमीमा आधारित हुने भए पनि वास्तविक वृद्धि (ग्रोथ) निजी क्षेत्रबाटै हुने गर्छ ।
सांसद झाले सन् २०२६ को तथ्यांक उल्लेख गर्दै संयुक्त राज्य अमेरिका मा निजी क्षेत्रको अर्थतन्त्र अत्यन्त ठूलो रहेको र चीन मा पनि निजी क्षेत्रको पुँजी विशाल रहेको उदाहरण दिए ।
उनले छिमेकी मुलुकहरूमा निजी क्षेत्रको तीव्र वृद्धि भएको भन्दै नेपालमा पनि त्यही दिशामा अघि बढ्नुपर्ने बताए।
उनले सरकार र विकास साझेदारको भूमिका स्थायित्वमा केन्द्रित हुने भए पनि वास्तविक आर्थिक विस्तार निजी क्षेत्रबाट हुने स्पष्ट पारे । “ग्रोथका लागि निजी क्षेत्रको अस्तित्व, क्षमता र संगठनात्मक अभ्यास बलियो हुनुपर्छ,” उनले भने।
कार्यक्रममा सांसद सुशान्त वैदिकले नयाँ सरकारले ल्याएको सय दिने कार्ययोजनामा उद्यमशीलतालाई प्राथमिकताका साथ समेटिएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले साना, लघु उद्यमीदेखि स्टार्टअपसम्मलाई प्रोत्साहन गर्ने नीति लिएको उनको भनाइ छ ।
उनले व्यवसाय दर्ता र नवीकरण प्रक्रियालाई सरल बनाउने प्रतिबद्धता कार्यसूचीमा रहेको उल्लेख गर्दै उद्यमी बन्ने चाहनालाई कागजी झन्झटले अब अवरोध नगर्ने बताए । साथै सरकारले गरेका कामको परिणाम आगामी साताबाटै देखिन थाल्ने दाबी पनि उनले गरे ।
कार्यक्रममा सहभागीहरूले निजी क्षेत्र र उद्यमशीलतालाई राष्ट्रिय अर्थतन्त्रको मुख्य इन्जिनका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।