रास्वपाको समर्थनमा उपसभामुखका लागि उम्मेदवारी दिएकी ठाकुरले के भनिन् ? [भिडियो]
मधेसको छोरीलाई अघि बढाउन सहयोग मिल्यो
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
859
Shares
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी सुम्पेको बताएकी छिन् । बिहीबार संघीय संसल सचिवालयमा उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाइन्।
सांसद ठाकुरले आफूलाई 'भुइँको मान्छे' को संज्ञा दिँदै पार्टीले यति छिट्टै यति ठूलो तहमा पुर्याउला भन्ने कल्पना समेत नगरेको उल्लेख गरिन्। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई समर्थन गरेर 'सरप्राइज' दिएको भन्दै उनले खुसी व्यक्त गरिन्। रास्वपाले मधेसको छोरीलाई नेतृत्वमा पुर्याउन सहयोग गरेको हुन सक्ने उनको बुझाइ छ।
"रास्वपाले समर्थन गर्ने कुनै पूर्वजानकारी थिएन, उहाँहरूले समर्थन गरेर सरप्राइज दिनुभएको छ। यसका लागि धेरै धन्यवाद दिन चाहन्छु," ठाकुरले भनिन्, "म मधेसको छोरी हुँ, मलाई अगाडि बढाउन उहाँहरूले साथ दिनुभएको होला। म भुइँको मान्छेलाई यो उचाइसम्म पुर्याएकोमा आफ्नो पार्टी अध्यक्षलाई पनि धन्यवाद दिन्छु। यो जिम्मेवारी मेरो लागि ठूलो हो, तर म यो पूरा गर्न सक्छु। देशका लागि जे आवश्यक पर्छ, म सधैँ साथ दिनेछु।"
सांसद ठाकुरले रास्वपाको समर्थनमा बिहीबार आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक महिला सांसदलाई उपसभामुखको उम्मेदवार बनाइनुलाई राजनीतिक वृत्तमा समावेशिताको हिसाबले महत्त्वका साथ हेरिएको छ।