एसईई दिएर फर्किरहेका विद्यार्थी सवार मोटरसाइकल ठोक्किएर आगलागी हुँदा तीनको मृत्यु, तीन गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
888
Shares
तस्बिर : रासस ।
अपडेटः
महोत्तरी। महोत्तरीमा दुईटा मोटरसाइकल आपसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।
निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताए ।
त्यस्तै, सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ कै सुरेश दासका छोरा अन्दाजी १९ वर्षीय रोहित दास, सोही ठेगानाका लखिन्द्र कापरका छोरा अन्दाजी १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षीय अजय कापर रहेका छन् ।
मोटरसाइकल पनि पूर्ण रुपमा जलेर नम्बरप्लेट समेत नदेखिने अवस्थामा छ ।
घाइतेको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।
जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मंगलबार बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
ठोक्किएर दुवै मोटरसाइकलमा आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै तत्काल मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू एसईई परीक्षा दिएर फर्किएका विद्यार्थी रहेको डीएसपी भट्टले जानकारी दिए ।