इलाम । दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव चैत २८ गतेदेखि आयोजना हुने भएको छ । देउमाई नगरपालिकाको वडा नं. ३, पानिटारस्थित सामुदायिक विकास समाजको खेल मैदानमा महोत्सव चैत २८ देखि वैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।
“पर्यटन विकासका लागि युवा” संस्थाको आयोजनामा हुन लागेको यस महोत्सवमा राष्ट्रिय स्तरका गायक–गायिकाको प्रस्तुति समेत रहनेछ। कार्यक्रममा विभिन्न समुदायहरूको सहभागितामा झाँकी प्रदर्शन, विविध भेषभूषा, कला र संस्कृतिको प्रदर्शनी हुने व्यवस्था मिलाइएको छ।
कृषि क्षेत्रमा सरोकार राख्ने विभिन्न स्टलहरू राखिनेछन्, जसले स्थानीय उत्पादन र आधुनिक कृषि प्रविधिको प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास गरिएको छ। मनोरञ्जनका लागि रोटेपिङ फन्को, १० किलोमिटर म्याराथन, खुल्ला पुरुष भलिबल प्रतियोगिता जस्ता कार्यक्रमहरू आयोजना हुनेछन्।
त्यसैगरी देउमाई नगरपालिकाभित्र र नजिकका पर्यटकीय क्षेत्रका फोटो प्रदर्शनी, पुराना ऐन्टिक सामानको प्रदर्शनी, विद्यार्थीहरूका लागि होमस्टे र पर्यटन अभिमुखीकरण, हस्तकला र चित्रकला प्रदर्शनी समेत आयोजना गरिनेछ। यसले स्थानीय पर्यटन, सांस्कृतिक सम्पदा र विद्यार्थीहरूमा पर्यटन जागरुकता बढाउने अपेक्षा गरिएको छ।
कृषि विज्ञहरूको सहभागितामा किसानका समस्या समाधान र परामर्शको व्यवस्थासमेत गरिने आयोजकको भनाइ छ ।