काठमाडौँ । राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले भदौ २३-२४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्न ढिलाइ नगर्न सरकारसँग माग गरेकी छिन् ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले सिंहदरबारलगायतका स्थानमा भएका घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिइन् ।
उनले सो घटनामा नवयुवाहरूलाई गलत ढंगले परिचालन गरिएको आरोप लगाउँदै यसबारे स्पष्ट जवाफ आवश्यक रहेको बताइन् ।
“भदौ २३ र २४ गतेको आन्दोलन शान्तिपूर्ण थियो कि हिंसात्मक? यसको जिम्मा कसले लिने?” भन्दै उनले सरकारलाई प्रश्न गरिन्।
सांसद झाँक्रीले सिंहदरबारमा भएको तोडफोड र आगजनीप्रति आफू भावविह्वल भएको बताउँदै यस्ता घटनाको वास्तविकता सार्वजनिक हुनुपर्ने धारणा राखिन्।
“राज्यका संरचना जलाउँदा केही हुँदैन भन्ने गलत भाष्य कसले बनायो? नवयुवालाई यसरी कसले प्रयोग गर्यो?” उनले प्रश्न गरिन् ।
उनले सरकारले यस्ता गम्भीर विषयलाई ‘कार्पेटमुनि धुलो हाल्ने’ शैलीमा बेवास्ता गर्न नहुने चेतावनी दिनुभयो। घटनाको निष्पक्ष छानबिन गरेर दोषी पहिचान गर्नुपर्ने उनको माग छ।
सांसद झाँक्रीले राज्यविरुद्ध जे पनि गर्न मिल्छ भन्ने खालको प्रवृत्तिलाई स्वीकार गरेर अघि बढ्न नसकिने स्पष्ट पारिन् ।
साथै, यस्ता घटनाको सत्य तथ्य भविष्यमा राष्ट्रिय सभाले खोज्ने विश्वास व्यक्त गरिन् ।