arrow

ट्रम्पको अडानको विपक्षमा म्याक्रोन, हर्मुज जलमार्गमा सैन्य अभियान 'अवास्तविक'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
macron-french.jpg

काठमाडौँ ।  फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले 'स्ट्रेट अफ हर्मुज' (हर्मुज जलमार्ग) लाई आवागमनका लागि खुला गर्न सैन्य अभियान चलाउने कुरा 'अवास्तविक' भएको बताएका छन्। दक्षिण कोरियाको भ्रमणका क्रममा म्याक्रोनले सैन्य कारबाहीमार्फत बलपूर्वक सो जलमार्ग सञ्चालन गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै यस्तो कदमलाई अव्यावहारिक मानेका छन्। 

कतिपयले, विशेष गरी अमेरिकाले सैन्य विकल्पको वकालत गरे तापनि यस्तो कारबाहीले अत्यधिक समय लिने र जलमार्ग पार गर्नेहरूका लागि 'तटीय खतरा' निम्त्याउने उनको ठहर छ। म्याक्रोनका अनुसार यो संवेदनशील जलमार्गको समस्या इरानसँगको सहकार्य र कूटनीतिक संवादमार्फत मात्र समाधान गर्न सकिन्छ।

विश्वको तेल आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज घाँटी मध्यपूर्वमा जारी युद्धका कारण हप्तौँदेखि अस्तव्यस्त बनेको छ, जसले गर्दा विश्वव्यापी बजारमा कच्चा तेल र पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। इरानको रिभोलुसनरी गार्ड्सले आफ्ना शत्रुहरूका लागि यो मार्ग बन्द राख्ने चेतावनी दिएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई युद्धविरामको मुख्य सर्त बनाउँदै आएका छन्। 

ट्रम्पले ह्वाइट हाउसबाट सम्बोधन गर्दै यो मार्गबाट तेल प्राप्त गर्ने जापान, दक्षिण कोरिया र चीनजस्ता देशहरूले नै यसको सुरक्षा र रेखदेखको जिम्मेवारी लिनुपर्ने धारणा राखेका छन्। उनले ती देशहरूले आफ्नो तेलको ठूलो हिस्सा सोही मार्गबाट पाउने भएकाले अमेरिकाले मात्रै यसको भार बोक्नुपर्ने कारण नभएको भन्दै प्रश्न उठाएका छन्।

राष्ट्रपति ट्रम्पले उत्तर र दक्षिण कोरियाको सुरक्षा सन्दर्भ जोड्दै एसियाली राष्ट्रहरूलाई आफ्नै सुरक्षा र ऊर्जा मार्गको ख्याल आफैँ गर्न दबाब दिइरहेका बेला म्याक्रोनले भने यसप्रति असन्तुष्टि जनाएका छन्। दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सेना तैनाथ रहेको अवस्थामा ट्रम्पले सैन्य खर्च र जिम्मेवारी बाँडफाँटको कुरा उठाएका हुन्। जापानको भ्रमण सकेर बिहीबार दक्षिण कोरिया पुगेका म्याक्रोनले ट्रम्पको पछिल्लो अभिव्यक्तिले द्वन्द्व समाधानमा सहयोग नपुग्ने सङ्केत गर्दै सैन्य बल प्रयोग गर्नुको साटो क्षेत्रीय शक्तिहरूसँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ