arrow

जनताले सरकारमात्र होइन, शासनको संस्कारमै परिवर्तन खोजेका छन्: ज्येष्ठ सदस्य केसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
arjun-kc-19.jpg

काठमाडौँ ।  प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नेपाली जनताले केवल सरकारको फेरबदल मात्र नभई शासन सञ्चालनको पद्धति, संस्कृति र संस्कारमै आमूल परिवर्तनको चाहना राखेको बताएका छन्। 

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार र नयाँ संसद्प्रति आम नागरिकको ठूलो अपेक्षा र उत्सुकता रहेको उल्लेख गरे। उनले मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको १०० बुँदे शासन सुधार कार्यसूचीलाई स्वागतयोग्य कदमका रूपमा व्याख्या गर्दै यसको सफल कार्यान्वयनका लागि समय, समर्पण र निष्पक्षता अनिवार्य रहेकोमा जोड दिए।

सम्बोधनका क्रममा केसीले विभाजनभन्दा एकता र आवेगभन्दा विवेक प्रयोग गर्दै राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्नु आजको प्रमुख कार्यभार भएको बताए। उनले विगतमा पटक–पटक भएको प्रतिनिधि सभाको असमयको विघटन र त्यसबाट सिर्जित राजनीतिक अस्थिरताले राष्ट्रिय जीवन र संवैधानिक संस्थाहरूको निष्पक्षतामा गम्भीर असर पारेको भन्दै यस्ता प्रवृत्तिमा अब पूर्णविराम लाग्नुपर्ने स्पष्ट पारे। विकास, अर्थतन्त्र र सुशासनसँग सम्बन्धित महत्त्वपूर्ण विधेयकहरूलाई प्राथमिकताका साथ पारित गरेर संसद्लाई जनउत्तरदायी बनाउनुपर्ने उनको सुझाव थियो।

पुराना राजनीतिक प्रवृत्ति र बानीबाट दिक्क भएका जनताले नयाँ सरकारबाट नयाँ कार्यशैलीको अपेक्षा गरेकाले सोही अनुरूप काम गर्न उनले सबैमा आग्रह गरे। उनले संसद्लाई लोकतन्त्रको प्रमुख आधार थलोका रूपमा परिभाषित गर्दै यहाँ हुने बहस र अभिव्यक्तिहरू सभ्य तथा मर्यादित हुनुपर्नेमा जोड दिए। जनआस्था र आशालाई व्यावहारिक नीति, योजना र परिणाममार्फत सम्बोधन गर्नु नै नयाँ संसद्को मुख्य चुनौती रहेको उनको ठम्याइ थियो। उनले नेपालको संविधानको समावेशी र जनसर्वोच्चताको भावनाप्रति सबै राजनीतिक शक्तिहरू निष्ठावान् हुनुपर्ने धारणा राख्दै नयाँ सरकारले जनताको विश्वास जित्ने गरी काम गर्ने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ