काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। परीक्षालाई विगतको तुलनामा थप पारदर्शी र व्यवस्थित बनाउन राष्ट्रिय परीक्षा बोर्डले नयाँ निर्देशिका जारी गरेको छ, जसले परीक्षामा हुन सक्ने अनियमितता न्यूनीकरण गर्ने र नतिजा प्रकाशन प्रक्रियालाई तीव्र बनाउने अपेक्षा गरिएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका निर्धारित परीक्षा केन्द्रहरूमा बिहान ८:०० बजेदेखि एकै समयमा परीक्षा सुरु भएको हो। चैत २९ गते सम्पन्न हुने यस परीक्षामा यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी छन्, जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। परीक्षार्थीहरूमा छात्राको संख्या २ लाख ५७ हजार ६१३ र छात्रको संख्या २ लाख ५४ हजार ८०१ रहेको छ भने जापानको एक परीक्षा केन्द्रबाट पनि २३ जनाले परीक्षा दिइरहेका छन्।
बोर्डले परीक्षाको सुरक्षा र व्यवस्थापनका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्रहरू निर्धारण गरेको छ जहाँ माध्यमिक तह अध्यापन हुने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी छन्। परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्षसहित परीक्षार्थी संख्याका आधारमा निरीक्षक र कार्यालय सहयोगीहरूको व्यवस्था गरिएको छ।
यस वर्षको विशेष योजनाअनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न गरी 'मार्कस्लिप' सिलबन्दी रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्ने प्रावधान राखिएको छ। नतिजा प्रकाशनलाई छिटोछरितो बनाउन प्रदेशगत रूपमा पनि नतिजा सार्वजनिक गर्न सकिने व्यवस्था नयाँ निर्देशिकाले गरेको छ।
उत्तरपुस्तिका परीक्षण कार्यलाई थप सुरक्षित बनाउन परीक्षक र संपरीक्षकहरूले परीक्षण केन्द्रमै बसेर कार्य गर्नुपर्नेछ भने परीक्षण कक्षमा मोबाइल जस्ता विद्युतीय उपकरण निषेध गरिएको छ। सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा मात्र परीक्षण गराउने र कुनै पनि हालतमा उत्तरपुस्तिका बाहिर लैजान नपाइने व्यवस्था गरिएको छ।
परीक्षणमा लापरवाही गर्ने परीक्षकलाई पारिश्रमिक कट्टा गर्नेदेखि विभागीय कारबाहीसम्मको चेतावनी दिइएको छ। यसैगरी, विगतमा अनुगमनका नाममा हुने भीडभाडले विद्यार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि यस वर्ष सामूहिक अनुगमनमा पूर्ण रोक लगाइएको छ। अनुगमनको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिलाई मात्र दिइएको छ। आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने चैत २९ सम्म अन्य विभिन्न विषयहरूको परीक्षा सञ्चालन हुनेछ।