हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज बिहान करिब ११ः२५ बजे हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र.३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल पूर्व-पश्चिम राजमार्गमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
ठक्करपछि ७६८३ नम्बरको मोटरसाइकलको पछाडि सवार हेटौँडा-९ की १८ वर्षीया एकता बैद्य अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको ना६ख ३१४५ नम्बरको सिमेन्ट बोकेको ट्रकमा ठोक्किएकी थिइन् ।
गम्भीर घाइते भएकी बैद्यलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा-४ का १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् भने अर्को मोटरसाइकल चालक चितवन इच्छाकामना-५ का २१ वर्षीय पुष्पालाल गुरुङ मध्यम घाइते भएका छन्। दुवैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न तीन ओटै सवारी साधन नियन्त्रणमा लिएको छ । साथै, ट्रक चालक बाँके कोहलपुरका ३३ वर्षीय बद्री गडरिया पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।