अब कक्षा ५ सम्म परीक्षा दिनु नपर्ने, बालबालिकालाई सिकाइको स्वतन्त्रता
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
1.2k
Shares
काठमाडौँ। सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि लिइँदै आएको परम्परागत आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले साना बालबालिकाहरूमा परीक्षाका कारण सिर्जना हुने मनोवैज्ञानिक त्रास, तनाव र दबाबलाई अन्त्य गर्न यस्तो कदम चालेको हो।
सरकारका अनुसार, परीक्षाको सट्टा बालबालिकाहरूको रुचि, क्षमता र सिर्जनात्मकतालाई प्राथमिकता दिँदै उनीहरूको प्राकृतिक सिकाइ प्रक्रियालाई प्रोत्साहन गरिनेछ। बालबालिकालाई 'ग्रेड' वा 'अंक' को दौडमा सामेल गराउनु भन्दा उनीहरूको चौतर्फी विकासमा ध्यान दिनु आवश्यक रहेको निष्कर्षसहित यो नयाँ नीति ल्याइएको हो।
यस निर्णयले प्राथमिक तहका लाखौँ विद्यार्थी र अभिभावकहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ। अब विद्यालयहरूले विद्यार्थीको मूल्यांकनका लागि परीक्षाको विकल्पमा निरन्तर विद्यार्थी मूल्यांकन वा अन्य रचनात्मक पद्धतिहरू अपनाउनुपर्नेछ। बालेन नेतृत्वको सरकारले आफ्नो १०० बुँदे कार्यसूचीमा शिक्षा क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा राखेको सन्दर्भमा यो निर्णयलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।