आईपीएल २०२६ आजदेखि, उद्घाटन खेलमा बेंगलुरु र हैदराबाद भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
878
Shares
काठमाडौँ। विश्वकै लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग २०२६ आजदेखि शुरू हुँदैछ। उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ। खेल राति ७ः४५ बजे एम चिन्नास्वामी स्टेडियममा शुरू हुनेछ।
बेंगलुरुको कप्तानी रजत पाटिदारले सम्हाल्नेछन् भने हैदराबादका लागि इशान किशनले निमित्त कप्तानको भूमिका निर्वाह गर्नेछन्।
नियमित कप्तान प्याट कमिन्स ढाडको चोटका कारण शुरूआती केही खेल गुमाउनेछन्।
प्रतियोगिताको प्रारम्भिक चरणमा मार्च २८ देखि अप्रिल ११ सम्म २० खेल खेलाइनेछन्। त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म थप ५० खेल आयोजना हुनेछन्।
यस सिजनका खेलहरू भारतका विभिन्न सहरहरू बेङ्गलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढमा हुनेछन्।
यस चरणमा आठ डबल–हेडर खेल पनि समावेश गरिएको छ, जहाँ एकै दिन दुई खेल खेलाइनेछन्। दिउँसोको खेल नेपाली समयअनुसार ३ः४५ बजे र बेलुकीको खेल ७ः४५ बजे शुरू हुनेछ।
रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्ना केही ‘होम’ खेल रायपुरमा पनि खेल्नेछ भने पञ्जाब किंग्सले धर्मशाला र नयाँ चण्डीगढलाई घरेलु मैदान बनाउनेछ।
विशेष रूपमा मे ११ मा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स बीच धर्मशालामा हुने खेल उल्लेखनीय हुनेछ, जुन अघिल्लो सिजनमा अवरुद्ध भई रद्द भएको थियो।